News

सांस्कृतिक सम्पदा र स्वास्थ्य संरचनाको पुनर्निर्माणका लागि भारतको ४२० करोड अनुदान

सांस्कृतिक सम्पदा र स्वास्थ्य संरचनाको पुनर्निर्माणका लागि भारतको ४२० करोड अनुदान

भारत सरकारले नेपालका विभिन्न जिल्ला स्थित १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि ४२० करोड अनुदान दिने भएको छ।

अनुदान परिचालन तथा कार्यान्वयनमा लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) विच शुक्रवार सम्झौतामा हस्ताक्षर भएको छ। विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्यामकिशोर सिंहको उपस्थितिमा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अन्तर्गत ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १ सय ३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माण गरिने छ।

०७२ सालको भूकम्पले क्षति पुगेका यी परियोजनाहरुको ४२० करोड अनुदान सहयोगमा पुनर्निर्माण गरिनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले यसको कार्यान्वयन गर्ने छ। 

शिक्षा, सांस्कृतिक सम्पदा, स्वास्थ्य क्षेत्रका लागि ५० मिलियन अमेरिकी डलर र आवास क्षेत्रका लागि १ सय मिलियन अमेरिकी डलरका दरले भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत कूल २५० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ ।

भारत सरकारको अनुदान सहयोगमा ७ जिल्लामा ७१ वटा शैक्षिक परियोजना, २८ वटा सांस्कृतिक सम्पदा परियोजनाको निर्माण भइरहेका छन । त्यस्तै नेपालका १० जिल्लामा १४७ वटा स्वस्थ्य संरचना र गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरहरुको निर्माण भइरहेको दुतावासले जनाएको छ । 
 

विशेष