News

लिपुलेकलाई समस्याको रुपमा चित्रण गरेकोप्रति सरकारको आलोचना

लिपुलेकलाई समस्याको रुपमा चित्रण गरेकोप्रति सरकारको आलोचना

नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले भूमिसम्बन्धी आयोग विघटन, दल फुटाउने अध्यादेश तथा मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको विषय उठाउँदै सरकारको आलोचना गरेका छन् ।

नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रूपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सरकार र गठवन्धनको आलोचना गरे ।

ज्ञवालीले आगामी निर्वाचनवाट एमाले फेरी सरकारमा फर्किने दावी पनि गरे । तत्कालका लागि परमादेशबाट आफूहरू सरकारबाट हटनु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने बताए।

‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ। अबको १५÷१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ’ उनले भने–‘ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ। जनादेशबाट फेरि फर्कने छौं, हामी सरकारमा। परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ। जनताको मायाबाट हामी फेरि फर्कनेछौं। र फेरि देशलाई ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौं।’
 

नेकपा (एमाले) प्रदीप ज्ञवाली

विशेष