News

सरकारलाई भीम रावलको प्रश्न– नेपाली भुमीमा भारतिय हेलिकप्टर उडाउने प्रयोजन के हो ?

सरकारलाई भीम रावलको प्रश्न– नेपाली भुमीमा भारतिय हेलिकप्टर उडाउने प्रयोजन के हो ?

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले गठवन्धनको सरकार मन्त्रीको भागवण्डाका लागि मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो भन्दै प्रश्न गरेका छन् । दार्चुलाको आकाशमा भारतीय हेलिकप्टर उडान गरेकोप्रति उनले सरकारको जवाफ पनि मागेका छन् ।

रावलले ट्वीट गर्दै लेखेका छन्–‘दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो ? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?’

भारतले नेपाली राष्ट्रियतालाई थप आहत बनाउने गरी नेपाली भुमिका हेलिक्टर उडाउन थालेपछि रावल आक्रोशित भएका हुन । भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन थालेपछि जिल्ला प्रशासनले भारतसँग लिखित आपत्ति समेत जनाएको छ।

यस विषयमा प्रशासनले नेपाल सरकारको गृह मन्त्रालयलाई पनि जानकारी गराएको छ । तर न भारतले अनधिकृत उडान रोकेको छ न नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छ । महाकालीमा बेपत्ता भएका जयसिंह धामीको खोजबिनका लागि गृह मन्त्रालयको टोलीले महाकाली नदीको पल्लो किनारमा ड्रोन उडाउन खोज्दासमेत असहयोग गरेको भारतले नेपाली भुभागमा हेलिकप्टर नै उडाउँदै आएको विषय आपत्तिजनक भएको जानकारहरु वताउँछन् ।

साउन १५ मा बेपत्ता भएका जयसिंहको खोजबिन गर्न ‘ड्रोन’ क्यामेरा उडाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ मा भारतलाई पत्र पठाएको थियो । त्यसको जवाफ अहिलेसम्म भारतले नदिएको वताईन्छ। 

स्रोतका अनुसार भारतले हेलिकोप्टर उडाउँदै आएको क्षेत्रमा सर्वसाधारणको बस्ती, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयसमेत पर्छ । दुई साताअघि पनि भारतीय हेलिकोप्टर नेपाली सेनाको गुरु गोरख गुल्म हेडक्वार्टरमाथिबाट उडेको वताईन्छ। लगत्तै गुल्म हेडक्वार्टरले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो ।

नेकपा एमाले भीम रावल दार्चुला भारतीय हेलिकप्टर

विशेष