News विदेश

तालिबानले नियन्त्रणमा लिन नसकेको पञ्जशिरमा भिषण लडाई

तालिबानले नियन्त्रणमा लिन नसकेको पञ्जशिरमा भिषण लडाई

अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिन नसकेको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)बीच भीषण युद्ध चलिरहेको छ । लडाईमा दुवै दर्फले अर्को पक्षमा ठुलो क्षती भएको दावी गरिरहेका छन् ।

तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा लिएको र एनआरएफतर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ भने एनआरएफले उपत्यकाको सबै प्रवेशद्वारमा आफ्नो बलियो उपस्थिति रहेको र तालिबानका सयभन्दा धेरै लडाकु मारिएको बताएको छ ।

पञ्जशिर प्रान्तमा ठूलो संख्यामा लडाकुहरु तैनाथ गरिएको विश्वास लिइएको छ । तालिवानले यो प्रान्तलाई नियन्त्रणमा लिन यसअघि पनि प्रयास गरेको थियो । तर, हालसम्म सफल हुन सकेको छैन । 

एनआरएफमा अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेह पनि सामेल छन् । अफगानिस्तानका पूर्व सैनिक र स्थानीय लडाकुलाई पञ्जशिरका स्थानीय नेता अहमद मासुदले नेतृत्व गरिरहेका छन् । मासुदका बाबुले सन् १९८० को दशकमा सोभियत संघ र १९९० को दशकमा तालिबानविरुद्ध वीरतापूर्वक युद्ध लडेका थिए ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले वार्ता असफल भएसँगै लडाकुहरु अहिले पञ्जशिर उपत्यकातर्फ लागेको बताएका छन् । तालिबान र पञ्जशिरका नेता दुई फरक ध्रुवमा उभिएसँगै वार्ता असफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एनआरएफले पञ्जशिरमा जारी युद्धमा ३५० तालिबानका लडाकु मारिएको दाबी गरेको छ । तर, आधिकारीक रुपमा यो संख्याको पुष्टि भएको छैन ।

विशेष