News

ओलीको कटाक्षः माधव नेपालको पार्टी नेकपा (एस) होईन, कांग्रेस (एस) हो

ओलीको कटाक्षः माधव नेपालको पार्टी नेकपा (एस) होईन, कांग्रेस (एस) हो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा (एस) नभएर कांग्रेसको (एस) पार्टी भएको भन्दै टिप्पणी गरेका छन् ।

एमालेको काठमाडौं जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका क्रममा उनले एमाले फुटाएका नेपालप्रति आक्रोश पोख्दै यस्तो वताउका हुन । नेता नेपालले कांग्रेसले जसो भन्छ उसै गर्ने गरेको भन्दै ओलीले ‘कांग्रेस (एस)’ पार्टी भन्दै आलोचना गरेका हुन ।

उनले माधव नेपाल जस्तो लाज सरम पचेको अर्को मान्छे नदेखेको पनि बताए। ‘यति सारो लाज सरम पचेको मैले देखेको थिइनँ। मान्छे माधव नेपाल जस्तो सरम पचेको मान्छे मैले नेपालमा मात्रै होइन विश्वमै देखेको छैन’ उनले भने–‘अस्तिसम्म जुन खाटमा बसेका थिए, त्यही खाटमा बन्चरो हान्दैछन्। त्यही पिर्का भाँच्दैछन्। जुन मन्दिरमा बसेका थिए त्यहीँ थुकिरहेका छन्। यिनी पतन भएर गए।’

समय वित्दै जाँदा नयाँ पार्टीमा माधव नेपाल एक्लै हुने पनि बताए। उनले भने– ‘अन्तिममा हुने पनि त्यही हो माधव नेपाल पार्टी, एकीकृत नै रहन्छ माधव नेपाल एकीकृत नै रहनन्छन।’

ओलीले नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाको भान्सा खान पुगेको बिरालोको संज्ञा दिए । ‘हाम्रो घरका बिरालाहरु शेरबहादुर देउवाको भान्सामा देखिन्छन्। दूध र भात खान पाइन्छ भनेर म्याउँ गर्दै पुगेछन’, उनले भने, ‘माधव नेपालको जिम्मा नै एमाले बदनाम गराउने हो। एमालेको चरित्र हत्या गर्नु हो।’

नेता नेपालले वामपन्थी सरकार ढालेर र विकासको काम गरिरहेको सरकार ढालेर क्रान्तिका कुरा गरेको आरोप पनि लगाए । माधव नेपाल किन यतिसाह्रो कम्युनिष्ट विरोधी भए भन्ने आफूले थाहा नपाएको उनले बताए।
ओलीले अबको चुनावबाट देउवाको सरकारजस्तो गठजोडबाट सरकार बन्न नदिने बताए।

‘अहिले झ्याल भेन्टिलेसनबाट छिरेका छन्, अबको चुनावमा हामी झ्यालमा जाली हाल्छौं,’ ओलीले भने, ‘राजधानी जगाऔं, राजधानी जागेपछि देशै जाग्छ, यो राजधानीमा एमालेबाहेकका कोही पनि जनप्रतिनिधि बनेर उम्किन नपाउन्।’

नेकपा एमाले केपी शर्मा ओली माधवकुमार नेपाल

विशेष