News

एमालेमा फेरी सुरु भयो १० वुँदेको लफडा, तेस्रो धार संकटमा

एमालेमा फेरी सुरु भयो १० वुँदेको लफडा, तेस्रो धार संकटमा

तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा एमालेमा फेरी खटपट शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयनलाई लिएर अध्यक्ष ओली र तत्कालीन नेपाल समूहका नेताहरुबीच खटपट शुरु भएको हो ।

ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेपालको साथ छाडेर एमालेमै बस्ने निधो गरेका नेताहरुको असन्तुष्टी छ। ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने आश्वासन दिए पनि अन्तिममा धोका दिएको बुझाईमा उनीहरु पुगेका छन्।

ओलीले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने सहमति गरे पनि पुरानै समस्या दोहोरिएको टिप्पणी उनीहरुले गरेका छन्।

एमालेलाई जेठ २ गतेको अवस्थामा फर्काउने हो भने पार्टी प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले पाउनु पर्ने हो । तर, एमाले पार्टी कार्यालयले प्रवक्ता प्रदीपकुमार ज्ञवाली भएको भन्दै सुचना जारि गरिसकेको छ। पार्टीमा १० बुँदे सहमति कार्यान्वयन भएको भन्दै आएका एमाले रोजेका नेताहरुले अहिले आएर आफूहरुलाई पेल्न थालेको महसुस गर्न थालेका छन् । 

जेठ २ गतेको एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसेपछि माओवादीबाट आएका नेताहरुलाई सहमतिमा प्रवेश गराउने भनिए पनि त्यो विषयलाई बेवास्ता गरेको विषयमासमेत असन्तुष्टि देखिएको छ। 

प्रदेशका इञ्चार्ज को को हुन् भन्नेमा पनि लडाई शुरु भइसकेको छ । फागुन २३ पछि माओवादीबाट एमालेमा आएका लेखराज भट्टले आफू एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज कायम रहेको दाबी गरेका छन् । बैठकले जे निर्णय गरे पनि आफूलाई नै इञ्चार्जमा निरन्तरता दिन ओलीसमेत सहमत भएको भट्टले दाबी गरेका छन् ।

तर, जेठ २ अनुसार जिम्मेवारी तोकिँदा त्यहाँको इञ्चार्ज भीम रावल हुन् । प्रदेश १ मा पनि त्यस्तै देखिएको छ । ओली पक्षका धेरै नेताले भीम आचार्यलाई इञ्चार्ज अस्वीकार गर्ने बताइसकेका छन् ।

हिजो मात्रै एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) को एकलौटी भेला बोलाइएपछि ‘तेस्रो धार’ थप सशंकित बनेको छ । एमाले रोजेका नेताहरु असन्तुष्ट हुन थालेपछि १० बुँदे सहमति कार्यान्वयनका लागि गठन गरिएको कार्यदलका नेताहरु बसेर छलफल गरेका छन्। कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र लेखराज भट्ट छन्। 

त्यसो त, विगतमा पनि अध्यक्ष ओलीमाथि आफैंले गरेका सहमति कार्यान्वयन नगरेको आरोप लाग्दै आएको थियो । अहिलेको १० बुँदे सहमति कार्यान्वयनमा पनि ओली उदासीन बनेको आरोप लागेको छ ।

माधवकुमार नेपाल नेकपा एमाले खटपट १० बुँदे सहमति

विशेष