News

संसद्को अधिवेशन वोलाउन सरकारको सिफारिस, चलाएर देखाउन इश्वरको चुनौती

संसद्को अधिवेशन वोलाउन सरकारको सिफारिस, चलाएर देखाउन इश्वरको चुनौती

सरकारले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपराह्न ४ बजेका लागि अधिवेशन बोलाउन सिफारिस गरेको छ।

गत साउन ३ गते सुरु भएको अघिल्लो अधिवेशन साउन ३२ गते अन्त्य गरिएको थियो। अधिवेशन अन्त्य भएको भोलिपल्टै सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश जारी गरेको थियो। सोही अध्यादेशको जगमा एमाले र जसपा विभाजित भइ क्रमशः नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका छन्।

सरकारले यसरी संसद अधिवेशनको आह्वान गर्दै गर्दा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भने आगामी संसद् अधिवेशन चलाएर देखाउन सभामुख अग्निप्रसाद सापकोटालाई चुनौती दिएका छन्।

काभ्रे जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेल अधिकांश समय सभामुखप्रति आक्रामक रुपमा प्रस्तुत भएका पोखरेलले सभामुख सापकोटा सभामुख नभइ प्रचण्डको निर्देशन मान्ने कार्यकर्ता भएको टिप्पणी गरे। 

नेकपा (एमाले)ले कारबाही गरेका १४ जना सांसदहरुको कारबाही सम्बन्धी सूचना टाँस नगरेको विषयलाई लक्षित गर्दै सभामुखप्रति पोखरेल आक्रोशित हुँदै भने– ‘तत्कालीन माओवादीबाट आएका साथीहरुलाई कारबाही गरेको पत्र प्रचण्डले काट्दा २४ घण्टा नबित्दै कार्यान्वयन गर्ने, तर नेकपा एमालेले कारबाही गरेको पत्र दिँदा पनि त्यसलाई धन्काएर राख्ने? प्रचण्डको गुरिल्ला बनेका छन् सभामुख।’

उनले आफ्नो पार्टीको नेतृत्वको सरकारबाट जसरी बाहिरिनु परेको छ त्यसको हिसाब किताब आउँदो चुनावबाट देखाउने चेतावनी दिए। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि नेपाली नागरिक जयसिंह धामी बेपत्ता घटनामा कूटनीतिक नोटिससमेत पठाउन नसक्ने अहिलेको सरकारबाट धेरै आशा गर्न नसकिने उनको भनाइ छ। 

संसद् अधिवेशन विद्यादेवी भण्डारी

विशेष