News

वामदेले जाँदाजाँदै ओलीलाई लगाए यस्तो आरोप, नेपालले पुरा गरे उनका तीन सर्त ?

वामदेले जाँदाजाँदै ओलीलाई लगाए यस्तो आरोप, नेपालले पुरा गरे उनका तीन सर्त ?

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमालेको सबै पद र जिम्मेवारीबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ एमाले पार्टी कार्यालयमा पुगेर उनले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्गलाई राजीनामा बुझाएका हुन ।

पार्टी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको अध्यक्षमा निर्वाचित भए पनि त्यहाँबाट पारित राजनीतिक कार्यदिशालाई ओलीले कहिले पनि अवलम्बन नगरेको आरोप लगाईएको छ।

०७४ सालमा भएका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को ‘साझा घोषणा’ लाई ओलीले प्रधानमन्त्रीको कार्यकालमा लागू नगरेको समेत गौतमले पत्रमा उल्लेख गरेका छन् ।

‘तपाईंले गर्नुभएका कतिपय कामलाई पटक पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन । जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना गर्नुभएन ।’

कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यता विपरीत झण्डै दुई तिहाई जनताको जनादेशलाई लत्याउँदै केपी ओलीले दुई पटक संविधान विपरीत जनताद्वारा निर्वाचित सदन भंग गरेको समेत राजीनामापत्रमा गौतमले लेखेका छन् ।

यसैगरी, आफूले प्रधानमन्त्री तथा एमाले अध्यक्षलाई गलत कार्यशैलीलाई जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रुपमा सुझावहरु दिए पनि कार्यान्वयन नगरिएको भन्दै उनले लेखेका छन्–‘ ‘बरु सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’

वामदेवमाथि सूर्य थापाको कटाक्ष ः अस्थिरताको हिसाबले प्रचण्डको भाइजस्तै !
 
गौतमले एमाले छोडेर नेकपा (एकिकृत समाजवादी) मा समाहित हुने निर्णय गरेका छन् । उनको यो निर्णयपछि नेकपा एमालेका नेता सूर्य थापाले कडा टिप्पणी गरेका छन् । वामदेव गौतम एकै दिनमा तीनवटा कुरा गर्ने अस्थिर स्वभावको भएको उनको टिप्पणी छ। 

एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि थापाले नेता गौतमलाई संकेत गर्दै फेसबुकमा लेखेका छन्, ‘उनी एकै दिनमा तीन थरी कुरा गर्थे। बिहान घरबाट निस्किँदा नेकपा (माले)को पक्षमा कुरा गर्थे। दिउँसो माओवादी बनिसक्थे। र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे।’
 
अस्थिरताको हिसाबमा नेता गौतम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाइजस्तै लाग्ने थापाले टिप्पणी गरेका छन्। एमालेबाट विभाजित बनेर माले बनेको २०५४–२०५८ अवधिमा पनि उनको यस्तै अस्थिरता रहेको आरोप लगाएका छन्। 

‘खासमा अस्थिरताको हिसाबले यिनी पुष्पकमल दाहालको सास्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन्। २०५४–५८ ताका यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा को थियो?’ 

प्रचण्ड र नेता गौतमको उस्तै उस्तै अस्थिरताको कारणले नेकपा हुँदै एमाले विभाजित भएर दुई तिहाइको कम्युनिष्ट सरकार र आफ्नो इतिहास समेत संकटमा परेको उनको भनाइ छ। 
 
‘यही कारण अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा एमालेको एकता, दुई तिहाईको कम्युनिस्ट सरकार र आफ्नै इतिहाससमेत संकटको भीरको डिलमा पु¥याएर आज स्वयं किनारा लाग्न पुगे? अनि, हिजोदेखि व्यक्तिमा सीमित बने ?सही उत्तर मिलाउनुहोस?’ नेता थापाले लेखेका छन्। 

उनले लामो समयसम्म तठस्थ वसेर ओली र नेपाल दुवैतिर बार्गेनिङ गरिरहेका थिए भने पत्नी तुल्सालाई भने नेपालको समाजवादीतिर खुल्न पठाएका थिए। गौतमले आफ्ना लागि चै यसअघि नै नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्न दुई अध्यक्ष हुनुपर्ने सहित तीन बुँदे लिखित प्रस्ताव राखेका थिए। 


यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संसद बाहिरबाट मन्त्रिपरिषद् गठन र महाधिवेशनबाट केन्द्रीय कमिटी चयन र केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्ने लिखित प्रस्ताव पनि गौतमले राखेका थिए । 

नेकपा एमाले वामदेव गौतम राजीना शेरबहादुर तामाङ्ग

विशेष