News

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, कसैको शव खोल्सामा, कसैको खरवारीमा

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, कसैको शव खोल्सामा, कसैको खरवारीमा

संखुवासभामा धारिलो हतियार प्रयोग गरेर एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ स्थित उम्लिङ भन्ने स्थानमा एकै परिवारका ६ जना मृत फेला परेका थिए।

अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको  हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हत्याको घटना सोमबार बिहान मात्र छिमेकीले थाहा पाएका थिए ।

घट्नामा ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी आमा ८० वर्षीया पार्वता, ५६ वर्षीय श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको प्रहरीले जनाएको छ । मृतकहरुको शव घरवरिपरि फालिएको अवस्थामा भेटिएको छ ।

घटनाको थप विवरण बुझ्न डीएसपी लालध्वज सुवेदीसहितको प्रहरी टोली घटनास्थलमा छ। सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न कम्तीमा ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चैनपुरमा प्रहरी निरीक्षक योगराज खतिवडाको टोली भने यसअघि नै घटनास्थलमा थियो।

कार्कीको घर गाउँ भन्दा केही दुरीमा रहेकोले घटना ढिलो गरी थाहा पाएको स्थानीयले वताएका छन् । शवहरू यत्रतत्र रहेको उनीहरुको भनाई छ। रहस्यमय तरिकाले हत्या भएकाहरूमा घर नजिकैको खरबारीमा नाती र  नातीनाको, खोल्सामा सासु र एउटी बुहारीको, बाटोमा तेजबहादुरको र घर भित्र एउटी बुहारीको शव फेला परेको स्थानीय धनबहादुर श्रेष्ठले बताए।

संखुवासभा एकै परिवारका ६ जनाको हत्या उम्लिङ

विशेष