News स्वास्थ्य

विपी प्रतिष्ठानको आन्दोलन विरुद्ध अर्को आन्दोलन, लिम्वुवान मञ्चद्वारा तोडफोड

विपी प्रतिष्ठानको आन्दोलन विरुद्ध अर्को आन्दोलन, लिम्वुवान मञ्चद्वारा तोडफोड

संघीय लिम्बुवान मञ्च धरानका कार्यकर्ताहरुको समूहले सोमबार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रवेश गरेर उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको छ। उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा आन्दोलनकारीले लगाएको ताला फुटाउँदै उनीहरुले ओपिडी लगायतका सेवा सञ्चालन गर्न माग गरेका छन्। 

काम छोडेर आन्दोलनमा उत्रने प्रतिष्ठानका चिकित्सकहरुको निर्णयको विरोधमा उनीहरु भौतिक हस्तक्षेपमा उत्रिएका हुन । आइतबार मात्रै एमाले, राप्रपा, लिम्बुवान लगायतका दलहरुले विज्ञप्ति जारी गरेर उपचार सेवा बहिष्कार गर्ने आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए। 

त्यसको भोलिपल्ट नै लिम्बुवानका कार्यकर्ताहरुले पदाधिकारीहरुको कार्यकक्षमा लगाइएको ताला फुटाएका थिए। 

प्रतिष्ठानको डेण्टल गेट तथा मूल गेटमा रहेका नेपाल प्रहरी र शसस्त्र प्रहरीको दुई तहको सुरक्षा घेरालाई तोडेर युवाहरुले भिसि कार्यालयको ताला तोडेका हुन् । प्रहरीले आन्दोलनको तयारीमा रहेका युवाले बोकेको झण्डा खोसेपछि युवाहरु आक्रोसित भएका थिए । 

आक्रोसित युवाहरुले डेण्टल गेटमा लगाएको ताला तोडेर प्रतिष्ठान हाता भित्र प्रवेश गरेका थिए ।  प्रहरीले  बल समेत प्रयोग भएको थियो । सो क्रममा केही युवा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवंरका अनुसार  दुइ जना प्रहरी  पनि  सामान्य  घाइते  भएका छन् ।  घटनाबारे  थप  बुझिरहेको  डिसपीले बताएका छन्।  प्रहरीले  केही युवाहरूलाइ नियन्त्रणामा  लिएको  बुझिएको छ। 

सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी काम छाडेर आइतबारदेखि आन्दोलनमा छन्। उनीहरुको आन्दोलनले दैनिक उपचार सेवा पाउँदै आएका हजारौं विरामी उपचारबाट वञ्चित भएका छन्। 

चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम छोडेपछि दुईदिनदेखि बिपीको ओपिडी सेवा, नियमित शल्यक्रिया सेवा तथा अन्य उपचार सेवा ठप्प  छ।

धरानमा दैनिक सरदर ३ हजार विरामीले ओपिडी सेवा लिन्छन् भने २० वटा शल्यक्रिया दैनिकजसो हुने गरेको छ। 
 

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तोडफोड संघीय लिम्बुवान मञ्च उपकुलपतिको कार्यकक्ष

विशेष