News राजनीति

कांग्रेस महामन्त्रीमा रोचक प्रतिस्पर्धा, को को छन प्रत्यासी ?

कांग्रेस महामन्त्रीमा रोचक प्रतिस्पर्धा, को को छन प्रत्यासी ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि मंसिरमा हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने भएका छन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट पौडेलले महामन्त्रीमा लड्ने तयारी गरिरहेका छन्। 

पौडेल पछिल्लो समय केन्द्रीय क्रियाशील छानबिन समितिमा रहेर काम गरेका थिए। क्रियाशील सदस्यता सम्बन्धीका विवाद अझै केही जिल्लामा टुंगोमा पुगेको छैन। यी विवाद समाधान गरिसकेपछि महाधिवेशनमा होमिने पौडेलको तयारी छ।

पौडेल १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य मात्रै लडेका थिए। उनी पहिलोपटक कांग्रेस पदाधिकारीमा लड्न लागेका हुन्। स्रोतका अनुसार सिटौलाले पौडेललाई महामन्त्रीको तयारी गर्न भनेका छन्। सिटौला यसपालि पनि सभापति उठ्ने तयारी गरेका छन्। ०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि उनी सभापति उठेका थिए। त्यसबेला सिटौलाकै सहयोगमा सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका थिए।

यसअगाडि १३ औं महाधिवेशनमा गगन थापा सिटौला पक्षबाट महामन्त्री लडेका थिए। उनी रामचन्द्र पौडेल पक्षबाट महामन्त्री लडेका शशांक कोइरालासँग पराजित भएका थिए। पछिल्लो समय थापा भने संस्थापनइतर समूह (पौडेल) समूहतर्फ नजिक छन्। 
पौडेल पक्षबाट चुनाव लड्ने सोचमा रहेका थापाले गत भदौ १४ मै महामन्त्री पदमा लड्ने घोषणा गरिसकेका छन्। कांग्रेस विधानअनुसार यसपटक दुई महामन्त्री पदका लागि निर्वाचन हुनेछ।

तर पौडेल पक्षले सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने तय गरिसकेको छैन। सर्वसम्मत तवरबाट सभापतिको उम्मेदवार दिने पौडेलले केही दिनअगाडि पत्रकार सम्मेलनमा भनेका थिए, त्यो पत्रकार सम्मेलनमा थापा पनि सहभागी थिए।

सभापति देउवा पक्षबाट महामन्त्रीमा प्रवक्ता विश्वप्रकाश शर्मा पनि लड्ने तयारीमा छन्। उनले यही भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गर्दैछन्। प्रदीप पौडेल पनि महामन्त्री पदमा लड्ने तयारी गरेपछि युवा केन्द्रीय सदस्यहरू यो महाधिवेशनमा आमनेसामने हुने भएका छन्। 

महामन्त्री पदमा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। सभापति देउवा पक्षबाट महामन्त्रीमा प्रवक्ता शर्मासँगै गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, एनपी साउदलगायत नेता पनि आकांक्षी छन्।

वरिष्ठ नेता पौडेल पक्षबाट केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरूङ, सरिता प्रसाईं आकांक्षी छन्। गगन पनि यही टिमबाट महामन्त्री उठ्ने तयारीमा छन्।

सिटौला पक्षबाट पौडेल महामन्त्रीको तयारी गर्दैछन्। पौडेल नेविसंघका पूर्वअध्यक्ष हुन्। उनी २०७४ सालको निर्वाचनमा तनहुँबाट प्रदेश सभा क्षेत्रमा उम्मेदवार बनेका थिए त्यसबेला ५ मतले नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग पराजित भएका थिए। 

नेपाली काँग्रेस १४औं महाधिवेशन महामन्त्री प्रदीप पौडेल

विशेष