News विचार Breaking News मुख्य समाचार

चिनियाँ भाषाको विरोध गरेको भन्दै तिब्बतीहरु पक्राउ 

चिनियाँ भाषाको विरोध गरेको भन्दै तिब्बतीहरु पक्राउ 

तिब्बत । चीन सरकारले पछिल्लो समय आफ्नो निशाना तिब्बतलाई बनाएको छ । तिब्बतमा चिनियाँ भाषाको विरोध गर्नेहरुलाई चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिन थालेका छन् । 

तिब्बती विद्यालयहरुमा जबरजस्ती चिनियाँ भाषा लागु गर्न खोजेको र पठनपाठनको भाषा नै चिनियाँ भाषा बनाउन लागेको भन्दै विरोध गर्ने दुई तिब्बती विद्यार्थीहरुलाई चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिएका हुन् । 

रेडियो फ्रि एसियाका अनुसार तिब्बतका सबै विद्यालयहरुमा चिनियाँ भाषाबाट मात्रै पठनपाठन गराउनुपर्ने चिनियाँ अधिकारीहरुको दबाब रहेको छ । उक्त दबाब मान्न नसकिने भन्दै तिब्बतीहरुले विरोध गरिरहेका छन् । 

पक्राउ परेकामध्ये एकजना १९ वर्षीय गुलड्राक रहेका छन् । उनको पक्राउपछि चिनियाँ सामाजिक सञ्जालमा प्रहरीको ज्यादतीको विरोध भइरहेको छ भने तिब्बती विद्यार्थीहरुले कक्षा बहिष्कारसमेत गर्न थालेका छन् । 

चिनियाँ राष्ट्रपति सी जिनपिङ प्रशासनले स्वायत्त क्षेत्र तिब्बतमा आफ्नो प्रभुत्व विस्तार गर्नका लागि यस्ता किसिमका नियमहरु लागु गर्न थालेको हो । पक्राउ परेका दुई जना विद्यार्थीहरु गुलड्राक र याङरिक दुबैजनालाई हाल डारलाग प्रहरी चौकीमा राखिएको छ । 

यसअघि चिनियाँ अधिकारीहरुले नै चिनियाँ भाषामा पठनपाठन गराउन नसक्ने विद्यालयहरु बन्द गर्न निर्देशन दिएका थिए । बेइजिङले पनि विद्यार्थीहरुलाई सरकारी विद्यालयमा जान दबाब दिइरहेको छ । पछिल्लो समय चीन सरकारले निजी विद्यालयहरु बन्द गराउने अभियानसमेत सुरु गरेको छ । 

तर, सांघाईमा करिब ६८ प्रतिशत निजी विद्यालयहरुमा अंग्रजी भाषामा पठनपाठन भइरहेको छ । 

विशेष