News समाज देश

सिन्धुपाल्चोकको कोदारीका २५० घर पहिरोको जोखिममा, चीनियाँ कम्पनीको लापर्वाही

सिन्धुपाल्चोकको कोदारीका २५० घर पहिरोको जोखिममा, चीनियाँ कम्पनीको लापर्वाही

चीनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) को लापर्वाहीका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित २५० घर परिवार रहेको एउटा सिङ्गो वस्ति पहिरोको जोखिममा परेको छ ।

चीन जोड्ने कोदारी सडक निर्माणका क्रममा प्राविधिक विषयलाई वेवास्ता गरी जथाभावी काम गर्दा गाउँ जोखिममा परेको हो । सडक निर्माणका क्रममा मापदण्ड विपरित काम गरिएको र जथाभावी डोजर चलाईएकाले गाउँमा क्षती पुगेको हो । सडक निर्माणका क्रममा भएको लापर्वाहीकै कारण कोदारी स्थित अरनिको राजमार्गभन्दा तल नदीले जमिन कटान गरिरहेको स्थानीयवासीहरु वताउँछन् ।

राजमार्गभन्दा मुनिको भाग कडानमा परेपछि त्यसमाथिका जमिन भासिँदै गएको कोदारी युवा क्लवका अध्यष पुर्णवहादुर तामाङले वताए । वस्तिका अधिकांश घरहरु चर्कन र भत्किन थालेका छन् । पहिरोवाट भईरहेको जोखिमको वेवास्ता गरी विशुद्ध ब्यापारिकनाका सञ्चालनलाई मात्र ध्यान दिएर काम गर्दा सिङ्गो कोदारी वस्ती जोखिममा परेको उनले वताए ।

‘एकतर्फी फाईदा हेरेर अब्यवस्थित ढङ्गले वाटो खन्ने कार्य भएको छ। तर, वस्ती वचाउन कुनै पनि निकायले वास्ता गरेको छैन’ तामाङले भने–‘त्यसले गर्दा सडकभन्दा माथिको भाग पुर्ण रुपमा भोटेकोशी नदीतिर वग्दै आएकोले समयमा त्यसको रोकथाम नगरे कोदारी मिल वजार चौकीडाँडादेखी माथी कोदारीगाउँ, छर्माङसम्म सयौं घरधुरीलाई प्रत्क्ष असर गरिरहेको छ।’

जिटुजी सम्झौता अन्तर्गत अरनिको सडक निर्माण गर्ने जिम्मा चीनियाँ कम्पनी सिआरसीसीले पाएको छ। कम्पनीले जथाभावी काम गर्दा वर्षाको समय सुरु हुनासाथ जमिन भासिने र वग्ने समस्या सुरु भएको थियो । त्यो क्रम अझै नरोकिएको स्थानीयले वताए । जमिन भासिन थालेपछि कतिपय गाउँलेहरु विस्थापित भएको स्थानीय साङ्गे लामाको भनाई छ।

‘जमिन वग्ने र भासिने सामान्य समस्या यस अघि पनि थियो, तर विस्तारै÷विस्तारै थियो’ लामाले भने–‘सिआरसिसीले काम गर्न थालेपछि प्राविधिक र वातावरणीय कुरालाई ध्यान दिईएन। त्यसको असरले एकै वर्षमा गाउँ जोखिममा पर्यो । प्राविधिक विषयलाई ध्यान नदिएर जताततै डोजर चलाएका कारण यो समस्या आएको उनले दावी गरे ।

जम्मा २६ किलोमिटर वाटो वनाउनु पर्ने सम्झौता अनुसार कम्पनीले गत वर्ष पनि काम गरेको र पातलो कालोपत्रे र निरन्तरको वर्षाका कारण सवै वगेको उनको भनाई छ। 

सम्झौता गर्ने तर अनुगमनमा ध्यान नदिने जनप्रतिनिधिका कारण पनि यस्तो समस्या आएको स्थानीयहरु वताउँछन् । ‘डिपिआर देखाउन हुँदैन, यो गोप्य हुन्छ भन्छन’ साङ्गे लामा भन्छन्–‘गत वर्ष वनाएको सडक भत्किएर गयो, अव यो वर्षको निर्माणले कति क्षती गर्ने हो ।’

यो समस्याको तत्काल समाधान खोज्न क्लवले भदौ १७ गते गाउँपालिकामा निवदेन समेत दिएको छ। तर, हालसम्म त्यस विषयमा कुनै सुनवाई नभएको अध्यक्ष तामाङ वताउँछन् । यति मात्र होईन, यो समस्याका विषमया गत वर्ष फागुन २६ गते कोदारी तातोपानी टोल सुधार समितिले पनि गाउँपालिकामा हारगुहार गरेको थियो ।

सीआरसीसीको लापर्वाही र स्थानीय जनप्रनितिनिधिको वेवास्ताका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित कोदारी गाउँ संकटमा परेको त्यस वेला जनाईएको थियो ।

अध्यक्ष साङ्गे लामाले वुझाएको निवेदनमा लेखिएको छ –‘यस भोटेकोशी गाउँपालिका २ अन्तर्गतका क्षेत्रमा पर्ने अरनिको राजमार्गमा सिआरसीसी नामक चिचियाँ ठेकेदार कम्पनीले निरन्तर रुपमा लापरवाही गरी गत भुकम्प पश्चात राजमार्ग पुर्ण निर्माण कार्य सुरु गरेको र गत वर्ष पनि स्थानीयले वारम्वार जानकारी  सहित नभत्काउन अनुरोध गर्दा पनि यसै वडाका वडा अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठले २ महिना भित्र पक्का वाल लगाउने भनि मौखिक प्रतिवद्धता जनाई झुक्काई पक्का पुरानो वालहरु भत्काई राजमार्ग माथिको गाउँहरु जोखिममा हुने गरी कार्य गरेको र गत वर्ष जस्तै फेरी पनि कच्चा ढंगले नयाँ निर्माण कार्य सुरु गर्न लागेको हुँदा सो कार्यको डिपिआर लगायत आवश्यक कानुनी प्रकृया पुर्याई सिङ्गो कोदारी गाउँलाई जोखिम नहुने गरी कार्य गर्न यस क्षेत्रको सम्पुर्ण स्थानीय वासिन्दको अनुरोधमा तपाई समक्ष यस समितिले नियमानुसार जाँचवुझ गरी पाउँ भनि यो विनम्र निवेदन पेश गर्दछौं ।’

उक्त निवेदनको वोधार्थ जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, सिमा प्रहरी चौकी कोदारी र सशस्त्र प्रहरी वल विओपी लार्चालाई समेत पठाईएको छ। तर, गाउँपालिका लगायत कुनै पनि निकायले गाउँलेको आग्रह वेवास्ता गरेको अध्यक्ष लामाले वताए ।

यो पनि

गाउँ जोखिममा परेको निवेदन तीन महिना अघि गाउँपालिकामा, वेवास्ता गर्दा वाँध भत्कियो

चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोकमा वाढि र पहिरोको वितण्डा

चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोकको सिङ्गो वस्ति नै जोखिममा [भिडियोसहित]

 

 

सीआरसीसी भोटेकोशी गाउँपालिका पहिरोको जोखिम

विशेष