News

हैट, केपी ओलीले राख्न लगाएको जलहरीको ११ किलो सुन बीचमै चैट !

हैट, केपी ओलीले राख्न लगाएको जलहरीको ११ किलो सुन बीचमै चैट !

०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ पुगी ‘संकल्प पूजा’ गरेका थिए । कम्युनिस्ट नेता मन्दिरको दर्शनमा गएको भन्दै त्यसबेला उनका विरोधीले आलोचना पनि गरे ।

संकल्प पूजापछि कोषका पदाधिकारीसँग पशुपति क्षेत्रको अवस्थाबारे जानकारी लिएर ओलीले मन्दिरमा सरकारी खर्चमा करिब १ अर्ब रुपैयाँ बराबरको सुनको जलहरी राख्ने घोषणा गरे । त्यही दिन ओलीले कोषलाई ३० करोड रुपैयाँ तत्काल उपलब्ध गराउने बचन दिएका थिए ।

सरकारले फास्टट्रयाक विधिबाट उक्त रकम निकाशा गर्यो। जलारी हाल्न पशुपति क्षेत्र विकास कोषले आफ्नो कोषबाट ५० करोड खर्चने निर्णय गरेको थियो । तर अपुग हुने भएपछि झण्डै १० करोड थपको लागि सरकारलाई अनुरोध गरेकोमा प्रधानमन्त्री ओलीले ठाउँको ठाउँ ओके भन्दिए।

ज्याला र अन्य खर्च जोडेर जलारी निर्माणमा झण्डै १ अर्ब खर्चिएको बताइन्छ । अहिले त्यही जलारीको केस जोडतोडले उठेको छ। 

पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा करिब ११ केजी सुन घोटाला भएको आशंका वढेको छ। सोही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित बहालवाला तथा पूर्वपदाधिकारीसँग बयान लिएको छ । वर्तमान सदस्यसचिव मिलनकुमार थापा र निवर्तमान सदस्यसचिव प्रदीप ढकालसहित जलहरी निर्माणमा संलग्न कोषका अधिकारीसँग अख्तियारले बयान लिएको हो ।

सोमबार सदस्यसचिव थापासँग अख्तियारले करिव ५ घण्टा बयान लिइएको छ । ढकाल चारवर्षे कार्यकाल सकिएपछि साउन ३१ मा कोषबाट बाहिरिएका थिए भने थापा भदौ १८ मा सदस्यसचिव नियुक्त भएका थिए ।

अख्तियारले उनलाई जलहरी बनाउँदा भएको अनियमितताबारे बयानका लागि भदौ १७ मै बोलाएको थियो तर बिरामी भएको बहाना बनाएर गएनन। अख्तियारले उनी सदस्यसचिव नियुक्त भएको दिन पनि बयानका लागि बोलाएको थियो तर सोमबार उपस्थित हुने भनेर उम्किएका थिए ।

भदौ १२ मा कोषाध्यक्षको कार्यकाल सकिएपछि बाहिरिएका थापालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्बाट निर्णय गराएर भदौ १८ मा सदस्यसचिव नियुक्त गरेका थिए । 

पशुपतिमा सुनको जलहरी राख्ने प्रक्रियाको सबै तजबिजी हालका सदस्यसचिव थापाले मिलाएका थिए । त्यसपछि जलहरी निर्माणको काम अघि बढाइएको थियो भने फागुन १२ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुनको जलहरी उद्घाटन भएको थियो ।

जलहरी बनाउनकै लागि कोषले राष्ट्र बैंकबाट करिब १ सय ३ केजी सुन खरिद ग¥यो । २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउन त्यसमा ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी राखिएको अभिलेख छ । त्योसहित २२ क्यारेटको १ सय ८ केजी सुनको जलहरी तयार पारियो तर कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८ सय २२ ग्राम भएको मुचुल्का उठाइएको छ ।

बाँकी रहेको करिब ११ केजी सुनको हिसाब गोलमाल भएपछि अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अघि बढेको प्रारम्भिक अनुसन्धानमा जलहरी निर्माणमा अनियमितता भेटिएपछि अख्तियारले विस्तृत अनुसन्धान थालेको थियो । 

प्रधानमन्त्रीले रकम दिने घोषणा गरेपछि कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालले जलहरी राख्नेसम्बन्धी प्रक्रिया थाल्न त्यसबेलाका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा समिति गठन गरे । समिति गठनपछि जलहरी निर्माण, सुन÷नगद खर्च, कालिगड परिचालनलगायत आर्थिक खटनपटन कोषका सीमित पदाधिकारी तथा सदस्यको मात्रै संलग्नतामा अघि बढाइयो ।

फागुन ११ को राति ८ बजेतिर जलहरी राख्ने काम सकिएको जानकारी मात्रै खटनपटनमा सहभागी नभएका सदस्यहरूलाई दिइएको स्रोत बताउँछ । कतिसम्म भने, जलहरी निर्माणको काम सकिएको र छिट्टै कोषमा बैठक राखेर उद्घाटन मिति तोकिने भनेर राति ९ बजे सूचना दिइएकोमा निर्माण कार्यमा संलग्न नभएका सदस्यहरू घर गएपछि सीमित व्यक्ति बसेर राष्ट्रपति भण्डारीबाट फागुन १२ मा जलहरी उद्घाटन गर्ने निर्णय भयो ।

त्यसको भोलिपल्टै राष्ट्रपति भण्डारीबाट सुनको जलहरी उद्घाटन गरियो । जलहरी निर्माण र कालीगढको खर्चबारेको हिसाब पारदर्शी भएन । त्यसप्रति असन्तुष्ट सदस्यहरूले सुरुमा मौखिक र पछि लिखित निवेदन दिएरै खर्चको हिसाब मागे तर दिन आनाकानी गरियो ।

कोषले जलहरी राख्न करिब ८० करोड रुपैयाँ खर्च भएको हिसाब देखाएको छ । अख्तियार स्रोतका अनुसार कोषले देखाएको खर्च अस्वाभाविक र पत्याउन नसकिने खालको छ । 

केपी शर्मा ओली पशुपतिनाथ जलहरी ११ केजी सुन

विशेष