News विदेश

तालिबान सरकारको घोषणापछि अमेरिका यस कारण ‘चिन्तित’

तालिबान सरकारको घोषणापछि अमेरिका यस कारण ‘चिन्तित’

अफगानिस्तानमा तालिबानको नयाँ सरकार गठनपछि अमेरिकाले चिन्ता ब्यक्त गरेको छ। सरकारमा अमेरिकी फौजमाथि भएका आक्रमणसँग सम्बन्धित व्यक्तिहरू सहभागि भएको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको हो।

संयुक्त राष्ट्रसङ्घको कालोसूचीमा रहेका मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् भने अमेरिकी एफबीआईको सूचीमा भएका हक्कानी सञ्जालका प्रमुख सराजुद्दिन हक्कानी आन्तरिक मामिलामन्त्री हुनेछन्। 

तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको हो। मङ्गलवारको सो घोषणालाई अमेरिकी विदेश मन्त्रालयले अध्ययन गरिरहेको बताएको छ।

अमेरिकी सांसद लिन्डसे ग्राहमले नयाँ सरकारलाई ‘ठग र कसाईहरूको समूह’ भनेका छन्। ग्राहम राष्ट्रपति जो बाइडनको अफगानिस्तान छोड्ने निर्णयको आलोचना गर्ने वरिष्ठ रिपब्लिकन सांसदहरूमध्ये एक हुन्।

अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ–‘घोषणा गरिएका नामहरू तालिबानका सदस्य वा तिनको नजिकका सहयोगी भएका र महिला नभएको हामीले देखेका छौँ। हामी केही व्यक्तिको इतिहास र संलग्नताका कारण चिन्तित छौँ।’

विज्ञप्तिमा अमेरिकीले तालिबानलाई ‘भनाइका हिसाबले नभई कामका हिसाबमा’ मूल्याङ्कन गर्ने बताएको छ।

उसले विदेशी नागरिक र यात्रा कागजात भएका अफगान नागरिकलाई सुरक्षित मार्ग दिने र अफगानिस्तानबाट हवाई उडानहरू गर्न दिने प्रतिबद्धताहरूमा तालिबानलाई कायम राख्न खोज्ने बताएको छ।

अमेरिका चिन्ता ब्यक्त तालिबानको नयाँ सरकार

विशेष