News विदेश

अफ्गानिस्तानका उइगरलाई जबरजस्ती चीन पठाउन सक्ने आशंका 

अफ्गानिस्तानका उइगरलाई जबरजस्ती चीन पठाउन सक्ने आशंका 

युद्धग्रस्त देश अफगानिस्तानमा रहेका अल्पसंख्यक मुस्लिम उइगर समुदायलाई जबरजस्ती चीन पठाउनसक्ने चिन्ता र आशंका बढेको छ । अफगानिस्तानमा करिब २० वर्षपछि आतंकवादी समूह तालिबानले सत्ता कब्जा गरेपछि उइगरहरु चिन्तित बनेका हुन् । अफगानिस्तानमा रहेका उइगरहरु चीन फिर्ता हुन बाध्य पारिने त्रासका कारण अन्य मुलुकमा शरण खोज्ने तयारीमा रहेका छन् । 

अफगानिस्तानमा उनीहरुको स्थिति चीनियाँ शरणार्थीहरुको रहेकोले फेरी चीन फिर्ता गर्नसक्ने चिन्ता बढेको हो । अमेरिकी सेना अफगानिस्तानबाट पूर्णरुपमा फिर्ता भएसँगै करिब दुई हजार उइगरहरु सबैभन्दा ठूलो त्रासमा रहेका छन् । 

काबुलमा १० बर्ष भन्दा बढी समयदेखि आफ्नो अफगान पतिसँग बस्दै आएकी एक उइगर महिलाले तालिबान दमन र महिलाहरुलाई गरिने दुब्र्यवहार दुबैबाट आफू त्रसित रहेको बताइन् । उनले चिनियाँ आप्रवासी भएको कारण फेरि तालिबानले जबरजस्ती चीनमा फिर्ता पठाउनसक्ने डर रहेको पनि बताइन् । 

‘म डराएको छु कि उनीहरु मलाई खोज्न आउँदैछन् किनकि म चीनियाँ हुँ, हामीलाई फेरि चीन पठाउन सक्छन्’– ती महिलाले थपिन् ।

एक उइगर पुरुष मामतले आफ्नो पुर्खाहरु चीनबाट आएकोले फेरी चीनमा नै फिर्ता गर्ने हुन् कि भन्ने त्रास बढेको बताए । काबुलमा रहेको उइगरहरु तालिबान शासनमा जीवन कसरी चलाउने भन्ने डर र भ्रममा बाँचिरहेका छन् । 

‘कजाकिस्तानले कजाखहरुलाई अफगानिस्तानबाट उद्धार गरेको छ, उज्वेकिस्तानले उज्वेकहरुलाई बाहिर लगिरहेको छ, टर्की र अन्य सबै देशहरु आफ्ना नागरिकहरुलाई फिर्ता लैजाँदैनछन् ।तर कसैले पनि हामी कसरी बाँचिरहेका छौं भनेर सोधिरहेका छैनन् । कसैले हामी उइगरलाई मद्दत गर्दैन’– उनले थपे ।

रेडियो फ्री एसियाको रिपोर्ट अनुसार तालिबान आतंकवादीहरु अब उइगर समुदायका मानिसहरुको घरमा गएर युवतीहरुलाई अपहरण गरिरहेका छन् । यस महिनाको सुरुमा, अमेरिकामा रहेको एक अनुसन्धान र वकालत समूहले उइगरहरुको अन्तरराष्ट्रिय दमनमा पाकिस्तान र अफगानिस्तानको संलग्नता रहेको दस्तावेज सहित एक नयाँ रिपोर्ट पनि जारी गरेको छ ।

अफगानिस्तान उइगर समुदाय

विशेष