News

लिम्पियाधुरा, लिपुलेक र कालापानीको जनगणना गरिने

लिम्पियाधुरा, लिपुलेक र कालापानीको जनगणना गरिने

सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गर्ने भएको छ। कोभिडका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यसूची सार्वजनिक भएपछि सीमा क्षेत्रको पनि जनगणना गर्ने सरकारको तयारी छ।


केन्द्रीय तथ्यांक विभागले अवस्था हेरेर लिम्पियाधुरा, लिपुलेक कालापानीको जनगणना गरिने जनाएको छ । महानिर्देशक नेविललाल श्रेष्ठका अनुसार त्यस क्षेत्रको जनगणना कसरी गर्ने भन्ने विषयमा निरन्तर छलफल भइरहेको छ।

भौतिक उपस्थितिमा नभएमा नयाँ प्रविधिको माध्यमबाट भए पनि त्यो क्षेत्रको जनगणना हुने श्रेष्ठले बताए । उनले सेटलाइट वा जीएसएस प्रविधिको माध्यमबाट अध्ययन गरेर अनुमानित तथ्यांक संकलन गरिने जानकारी दिए । उनका अनुसार आगामी कार्तिक २५ देखि मंसिर ९  सम्म राष्ट्रिय जनगणना हुनेछ ।

यस्तै भदौ २० गतेदेखि जनगणनाको काम सुरुवात हुने र मुख्य जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने श्रेष्ठले बताए । जनगणनाका लागि ८० वटा प्रश्नावली तयार छन् । जनगणनाको तथ्यांक संकलन दुई चरणमा हुने व्यवस्था गरिएको छ । विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गरिनेछ । भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् ।

कात्तिक १३ देखि १६ गतेसम्म गणक भर्ना गरेर तालिम दिने काम हुनेछ । गत जेठ २५ देखि ८ सम्म हुने निर्धारित कार्यतालिका कोभिडका कारण प्रभावित भएको थियो । कोभिड महामारी बीचमा पनि जनगणनाका आन्तरिक काम भने भइरहेको उनले बताए । नेपालमा जनगणना भएको ११० वर्ष भएको छ । १९६८ बाट नेपालमा जनगणना सुरु भएको हो । नेपाल सरकारले प्रत्येक १० वर्षमा जनगणना गर्दैआएको छ । २००८ मा भने नियमित जनगणना रोकिएको थियो । २००७ सालको क्रान्तिका कारण रोकिएको जनगणना २००९ र २०११ गरी दुई चरणमा गरिएको थियो । 

जनगणना लिम्पियाधुरा, लिपुलेक, कालापानी

विशेष