News राजनीति

राष्ट्रिय एकता दिवसकै दिन राप्रपाबाट अलग हुँदै कमल थापा

राष्ट्रिय एकता दिवसकै दिन राप्रपाबाट अलग हुँदै कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) औपचारिक रुपमै फुटको संघारमा पुगेको छ। पार्टी अध्यक्षमा अप्रत्यासित हार ब्यहोरेपछि पूर्वअध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति रुष्ट छन्। उनले आफनो हारका पछाडि पूर्वराजाको हात रहेको भन्दै अव राजसंस्था वाहेक हिन्दुराष्ट्रको एजेण्ड लिएर अघि वढ्ने औपचारिक रुपमा घोषणा पनि गरिसकेका छन् ।

उनको यो घोषणाले राप्रपामा राजसंस्थालाई लिएर दुई धार देखिएको छ। आज पृथ्वी जयन्तीको अवसरमा यो धार औपचारिक रुपमै सतहमा आउने देखिएको छ। राप्रपाकाले भृकुटी मण्डपमा कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस मनाउने भएको छ भने कमल थापाको टिमले वानेश्वरमा कार्यक्रम गर्ने जनाईएको छ।

स्रोतका अनुसार थापाले वानेश्वरबाट नयाँ पार्टीको घोषणा गर्ने भएका छन् । पार्टीको नाम नै घोषणा नभएपनि राप्रपा फुटको औपचारिक विन्दु भने वानेश्वरलाई वनाउने थापाको तयारी छ। कमल थापासँग पुराना मण्डले, कुण्डलेलगायत सवै बानेश्वरमा देखिने छन्। महाधिवेशनमा निर्वाचित उनी निकटका पदाधिकारी र सदस्यहरु भने अहिले लिङ्देनकै टिममा रहने छन् । लिङ्देनको टिममा कमल थापा पक्षकै वहुमत छ। उनीहरुले टिममै वसेर लिङ्देनलाई असहयोग गर्ने र अन्तिम अवस्थामा मात्रै थापा पक्षमा खुल्ने रणनीति वनेको स्रोत वताउँछ।

पार्टी अध्यक्षको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा समेत लागेर हराएको महसुस गरेपछि थापाले पार्टी खोलेर उनलाई ठिक लगाउने निस्कर्ष निकालेको बताईन्छ। थापा निकट नेताहरुका अनुसार अव राजा र राजसंस्था छोडेर अगाडि वढ्ने गरी नयाँ पार्टी खोल्ने निस्कर्षमा थापा पुगेका छन् । अध्यक्षमा पराजित भएपछि उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको अभिब्यक्तिले पनि उनी अव राजसंस्था नवोक्ने मनस्थितीमा पुगेको स्पष्ट हुन्छ। 

‘मैले राहत र उन्मुक्ति पाएको छु’ भन्दै उनले सामाजिक सञ्जालमा लेखेका थिए–‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना।’

थापाले ढलिसकेको राजतन्त्रात्मक व्यवस्था पुनः फर्काउँछु र नेपाललाई हिन्दु राष्ट्र नै कायम गराउँछु भन्दै पछिल्लो १५ वर्षदेखि संघर्ष गरेका पनि हुन । २०६२÷२०६३ को जनआन्दोलन–२ को बलमा ढलेको राजसंस्था र पन्छाइएको हिन्दु राज्य फर्काउने थापाको एकसूत्रीय लक्ष्य थियो । तर, उनको विरासत ढालेर र पार्टीमा आफूभन्दा कैंयन वरिष्ठहरूलाई पछि पार्दै राजतन्त्रको हिमायतीको रूपमा लिङ्देनले आफूलाई उदय गराएपछि थापाले अप्ठ्यारो महसुस गरेका छन् ।

यद्यपी कमल थापा स्वयमले पनि पूर्वराजालाई धोका दिन भने वाँकी राखेका छैनन्। खासमा कमल थापा र पूर्वराजाका विचमा सुरु भएको खटपटी नयाँ भने होईन, यो समस्या ०७२ सालदेखि नै सुरु भएको हो । संविधान जारी हुँदैदेखि उनिहरुका विचमा खटपट छ।

स्रोतका अनुसार त्यसबेला ज्ञानेन्द्रले संविधान जारी गर्ने प्रक्रियामा सहभागी नहुन थापालाई आग्रह गरेका थिए। तर, उनले ज्ञानेन्द्रको कुरामा वास्ता नगरी संविधानको अन्तिम मस्यौदामा हस्ताक्षर गरे। यति मात्र होईन, हिन्दु राष्ट्र र राजसंस्था वाहेक प्रजातान्त्रिक प्रक्रिया तथा समावेशीकरणका हिसाबले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको जिकिर गर्दै आए।

संविधानको पक्षमा थापा सक्रिय भएकोमा पूर्वराजा र उनको समूह असन्तुष्ट थियो। त्यसपछि पूर्वराजाले असहयोग गर्दै आएको थापा समूहको आरोप छ। 

थापामाथि मुसा प्रवृत्ति अवलम्वन गरेको र पञ्चायतदेखि वहुदलसम्म पद लिन नछोडेको आरोप लाग्दै आएको छ। राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले २०५३ मै थापालाई मुसा प्रवृत्तिको आरोप लगाएका थिए ।

०५३ सालमा चन्द प्रधानमन्त्री बनेका थिए। त्यसको छ महिनापछि नै राप्रपामा बिग्रह आयो, जब कांग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनाएर राप्रपा–कांग्रेसबीच सत्ता गठबन्धनको प्रस्ताव राख्यो, चन्द सरकारमा मन्त्री रहेका राप्रपाका नेताहरू नै राप्रपा–एमाले गठबन्धन तोड्न र कांग्रेससँग मिलेर सरकार चलाउन आतुर देखिए।

त्यसमध्ये एक थिए – कमल थापा। थापाले आफूलाई छोड्न लागेपछि चन्दले भनेका थिए– ‘जहाज डुब्न लागेको थाहा पाएपछि सबैभन्दा पहिले मुसाहरू जहाज छोडेर भाग्छन्।’ उनले गरेको यो टिप्पणीले थापालाई लामो समयसम्म पछ्यायो। सत्तामा पुग्न थापाले फेरिरहने समीकरणलाई टिप्पणीकारहरू ‘मुसा प्रवृत्ति’ भनेर घोचपेच गरिरहन्छन्। 

संविधान जारी भएपछिको अवस्थामा पनि थापा केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीका रुपमा सहभागी भए। त्यसपछि प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि उनी सहभागी भए।

थापाले दोस्रो संविधान सभा निर्वाचनमा हिन्दूराष्ट्र र राजसंस्थाको मुद्धा बोकेका थिए। ‘एक भोट दाईलाई, एक भोट गाईलाई’ भन्दै भोट मागेका थापाले सोही गाईले जितेको २५ सिट जनमतको कदर भने गरेनन् । धर्म रक्षा गर्ने जिम्मा स्वरूप जनताले दिएको २५ सिटको दुरुपयोग भयो । उनले प्रति एक सिट १ करोड रुपैयाँमा लिलामी गरेको आरोप लाग्यो ।

संविधान सभाबाट संविधान अनुमोदन हुन नदिन मधेशवादी दलले बहिस्कार गर्दा राप्रपाका २५ जना सांसदले ले लुरूलुरू संविधानमा ल्याप्चे लगाए । यति मात्रै होईन, राष्ट्रसंघको जेनेभा कार्यालयमा विश्वकै उत्कृष्ट संविधानको भन्दै उनले गणतान्त्रीक संविधानको भजन गाए । २५ सिटको उन्मादपछि ‘राजा–राजाभन्दै हिँड्ने हामी भजन मण्डली हौँ र ? हामीले राजसंस्था भनेका हौँ पूर्व राजा भनेका हैनौँ’ भन्दै हिडे।

यतिमात्रै होईन, राप्रपा अध्यक्ष थापाले ०७२ सालको संविधान जारी गर्नुपुर्व धर्म निरपेक्ष संविधान वनाउने प्रकृयामा सहयोग गर्ने सर्तमा युरोपियन युनियनसँग ३२ करोड रुपैयाँ लिएको चर्चा छ। उनले आफना २५ जना सभाषदलाई देखाएर उक्त पैसा कुम्ल्याए । तर, त्यो पैसा कसैले देख्न पाएनन् ।

थापाले नेपाल र भारतका हिन्दुहरु तथा तत्कालिन भारतिय विदेश मन्त्री सुस्मा स्वराज समेतलाई धोका दिएको स्रोतको दावी छ। उनले संविधान वन्नु पूर्व हिन्दु र हिन्दुत्वको नाममा भारतिय धर्मगुरुहरुसँग ठुलो रकम संकलन गरे । तर, उनीहरुसँग गरेको सर्त पुरा गर्न नसकेपछि थापा ‘ढाँट नेता’ का रुपमा परिचित भए।

अर्कोतर्फ सुस्मा स्वराजसँग गरेको ‘हिन्दु राष्ट्रको पक्षमा लविङ्ग गर्ने’ वाचा पनि पुरा नगरेपछि भारतीय पक्षले उनलाई साथ दिन छोडेको छ। 

यी सवै प्रकरणपछि उनी राजा वाहेकको हिन्दु राष्ट्रको एजेण्डा लिएर अघि वढ्ने सोचमा पुगेको जानकारहरु वताउँछन् । यो निर्णयसँगै कमल थापा बिनयकुमार यादव नेतृत्वको राष्ट्रिय एकता अभियान नेपालले उठाउँदै आएको मुद्धामा पुगेका छन् । अभियानले ‘संघीय हिन्दु गणतन्त्र नेपाल’को एजेण्डा बोकेर अघि वढेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा

विशेष