News देश

मन्त्री आलेको दबाबमा लुम्बिनी विकास कोषको जग्गामा रिसोर्ट !

मन्त्री आलेको दबाबमा लुम्बिनी विकास कोषको जग्गामा रिसोर्ट !

नारायणहिटी दरवार संग्रहालयभित्र गैरकानुनी रुपमा होटल सञ्चालनको अनुमति दिएको विषय विवादमा ल्याएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आलेले लुम्बिनी विकास कोषको जग्गा गुरूयोजनाविपरित रिसोर्ट बनाउन दिने प्रक्रिया अगाडि बढेका छन्।

यो विषय सार्वजनिक भएसँगै मन्त्री आलेको दोहोरो चरित्र साम्ने आएको छ। लुम्विनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री आलेको दबाब, निर्देशन र ठाडो हस्तक्षेपमा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरिएको जनाईएको छ। लुम्बिनीको विषयमा छायाँमा पार्ने मनसायले नै मन्त्री आलेले नारायणहिटीको विषय विवादमा ल्याएको कतिपयले वताउन थालेका छन् ।

लुम्बिनी विकास कोषको जग्गा रिसोर्ट वनाउन दिन लागिएको संसार वेलनेस कम्पनी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको कम्पनी हो। वैद्य आफूले लुम्विनी विकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटल बनाउने योजना तयार गरेका थिए। 

आफु पदमा रहँदा नै वैद्यले जग्गा कब्जा गर्ने कानुनी उपाय पहिल्याएर अहिले आएर रिसोर्ट सञ्चालनको लागि दिने निर्णय गराउन सफल भएको आरोप छ।

संसारा वेलनेसले पेश गरेको प्रस्तावमा भने मेडिटेसन सञ्चालन गर्ने मेडिटेसनको लागि आउने पाहुनाको आवासको लागि रिसोर्ट सञ्चालन गर्ने उल्लेख गरिएको छ। लुम्बिनी विकास गुरूयोजनामा लुम्बिनी ग्राममा स्वदेशी तथा विदेशी पाहुनाको लागि उच्चस्तरीय आवासका लागि तीन वटा मात्रै होटल सञ्चालन गर्ने उल्लेख छ। 

संसारा वेलनेसले यस अघि लुम्बिनी ग्राममा रहेको क्याम्पियन ग्राउण्डभित्र रिसोर्ट सञ्चालन गर्ने प्रस्ताव पेश गरे पनि अगाडि बढ्न सकेको थिएन। तर गत असोजमा प्रेमकुमार आले मन्त्री बनेर आएपछि भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमार्फत पुनः प्रस्ताव लगिएको हो । मन्त्री आलेको दबाबमा अहिले डेढ महिनामै उक्त जग्गा संसार वेलनेसलाई दिने निर्णय गरिएको स्रोतको दावी छ।

संसारा वेलनेसले प्रस्ताव गरेको क्षेत्र क्याम्पियन ग्राउण्ड रहेकोले त्यसलाई रिसोर्ट सञ्चालनको लागि दिन नहुने पक्षमा लुम्विनी बिकास कोषका उपाध्यक्ष अवधेस कुमार त्रिपाठी (भिक्षु मेत्तेय) रहेका थिए। श्रोतका अनुसार उक्त प्रस्तावलाई निर्णय गर्न लुम्विनी विकास कोषका पदाधिकारीले नमानेपछि मन्त्री आलेले विकास कोषका पदाधिकारीलाई राजीनामा गर्न समेत दबाब दिएका थिए।

सोही जग्गाकै विषयमा मन्त्री आलेसँग कुरा नमिलेपछि पछिल्लो एक महिना यता उपाध्यक्ष त्रिपाठी क्यानडा गएर बसेको उनी निकट स्रोतले जानकारी दियो।

नारायणहिटी दरवार संग्रहालय प्रेम आले लुम्विनी विकास कोष संसारा वेलनेस

विशेष