News

को हुन, पार्टीको निर्णय विपरित ‘मधेश प्रदेश’ को पक्षमा मतदान गर्ने १७ सांसद ?

को हुन, पार्टीको निर्णय विपरित ‘मधेश प्रदेश’ को पक्षमा मतदान गर्ने १७ सांसद ?

प्रदेश २ को नाम सोमवार विधिवत रुपमा मधेश प्रदेश भएको छ। नामाकरणका लागि प्रदेशसभामा भएको मतदानमा ‘मधेश प्रदेश’ को प्रस्ताव दुई तिहाईले पारित भएसँगै ४ वर्षको प्रयासपछि नामाकारण र राजधानीको विषय टुङ्गो लागेको छ।

प्रदेशको नाम र राजधानीको विषय टुङ्गोमा पुर्याएको उपलक्ष्यमा मधेस प्रदेश सरकारले मंगलवार सार्वजनिक बिदा समेत दिएको छ। सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

प्रदेश २ को नाम ‘मधेश’ कायम गर्न जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र सहमत थिए । तर, उनीहरूसँग प्रस्ताव पारित गर्न आवश्यक  पर्ने दुई तिहाई मत थिएन। १ सय ४ सदस्यीय प्रदेशसभामा दुई तिहाइका लागि ७० मत आवश्यक पथ्र्यो । यसका पक्षमा रहेका तीन दलसँग मात्रै ६३ मत थियो।

सो प्रदेशमा जसपाका ३९, लोसपाका १६ र माओवादीका ८ गरी ६३ जना मधेश प्रदेशका पक्षमा खुलेका थिए । १९ सदस्य रहेको नेपाली कांग्रेस सो प्रदेशको नाम ‘मिथिला भोजपुरा’ राख्ने पक्षमा थियो भने ८ जना प्रदेशसभा सदस्य रहेको नेकपा एमाले र १३ जना सदस्य रहेको नेकपा एकीकृत समाजवादी सो प्रदेशको नाम ‘जानकी’ राख्नुपर्ने पक्षमा थिए । १ जना प्रदेश सभा सदस्य रहेको नेपाल संघीय समाजवादी भने ‘मध्य मधेश’ नाम राख्नुपर्ने पक्षमा थियो ।

तर, गोप्य मतदानमा भने ‘मधेश’ नामको पक्षमा ८० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । यसले के देखाएको छ भने ‘मधेश प्रदेश’ को पक्षमा नरहेका दलका १७ जनाले ‘फ्लोर क्रस’ गरे। गोप्य मतदान भएका कारण प्रदेशसभाको नाम ‘मधेश प्रदेश’ राख्ने प्रस्तावका पक्षमा दुई तिहाइ जुटेको हो ।

कुन–कुन दलका क–कसले फ्लोर क्रस गरे ? भन्ने खुलेको छैन । गोप्य मतदान भएका कारण ठुला भनिएका र ‘मधेश’ नामको पक्षमा नरहेका दलका सांसदहरुले नै फ्लोर क्रस गर्दा यो परिणाम आएको जानकारहरु वताउँछन् ।

यसअघि २०७७ साल चैत ५ गते प्रदेशसभाको नाम सम्बन्धी प्रस्ताव उपर मतदान भएको थियो । सो मतदानमा कुनै पनि प्रस्तावले दुई तिहाइ जुटाउन सकेको थिएन । 

मधेश प्रदेश

विशेष