News राजनीति

स्थानीय तह निर्वाचन वैशाखमै, आगामी वैठकमा मिति घोषणा 

स्थानीय तह निर्वाचन वैशाखमै, आगामी वैठकमा मिति घोषणा 

सत्तारूढ गठवन्धनका नेताहरु वैशाखमै निर्वाचन गर्न सहमत भएका छन् । 

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा वसेको राजनीतिक समन्वय समितिको बैठकले समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सहमति गरेको हो।

समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको हो। निर्वाचन आयोगले पनि वैशाखमा स्थानीय तह निर्वाचन गर्न सिफारिस गरेको थियो।

समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने–‘स्थानीय तहको चुनावलाई समयमै सम्पन्न गर्ने विषयमा छलफल केन्द्रीत भएको छ। संविधानमा व्यवस्था भएअनुसार नै चुनाव हुन्छ।’

उनले मिति घोषणा गर्नेबारे भने निर्वाचन आयोगसँग फेरि परामर्श गरिने जानकारी दिए। माघ ६ गते वस्ने अर्को बैठकबाट स्थानीय तहको चुनावको मिति तय गर्ने तयारी छ।

माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनबारे पनि छलफल भएको छ। रिक्त १९ पदमा सत्तागठबन्धनले भागबन्डा गरी उम्मेदवार उठाएका छन्। 

छलफलमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरूको उपस्थिती थियो। 
 

राजनीतिक समन्वय समिति

विशेष