News

पेण्डुलम प्रधानमन्त्रीः दाह्रानंग्रा फैलाउँदै प्रचण्ड, एआईजी वढुवामा एक भाग 

पेण्डुलम प्रधानमन्त्रीः दाह्रानंग्रा फैलाउँदै प्रचण्ड, एआईजी वढुवामा एक भाग 

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मालदार मन्त्रालयहरु हातमा लिएर धमाधम लाभ लिन थालेका छन्। अर्थ मन्त्रालय माओवादीको भागमा पारेर प्रचण्डले दाह्रानंग्रा फैलाउँदै लगेका छन् ।

प्रचण्डको योजना अर्थमन्त्री जर्नादन शर्माले पुरा गर्दै आएका छन् । हरेक ठाउँ खोज्दै उद्योगी व्यवसायीलाई आफ्नो भर पर्न वाध्य पार्न थालेका प्रचण्डले प्रहरीको एआइजी बढुवामा पनि भाग लिन अर्थ मन्त्रालयमार्फत् बार्गेनिङको बाटो बनाएका छन् । त्यसैले प्रहरीका अधिकृत देखि उद्योगी व्यापारी बालुवाटार भन्दा खुमलटार धाउन थालेका छन् । 

प्रचण्डको मन जित्न शर्माले अर्थ मन्त्रालयमा बसेर खेल्न सकिने ठाउँहरु खोज्दै खुमलटारमा जानकारी पुर्याइरहेका छन् । पछिल्लो पटक एआईजी वढुवामा पनि प्रचण्डले भाग खोजेका छन्। अर्थमन्त्रीमार्फत भाग खोजेपछि लामो समयदेखि रोकिएको नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने प्रकृया अहिले अन्तिम चरणमा पुगेको छ।

तीन जना एआईजीको वढुवामा अर्थमन्त्री जनार्दन शर्मालाई पनि एउटा भाग दिने सहमति वनेपछि दरवन्दी थप्ने प्रकृया अगाडि वढेको हो । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेलगत्तै दरबन्दी थप गर्ने प्रयास भएपनि अर्थमन्त्री शर्माले सुरुमा बजेटको समस्या हुने बताउँदै स्वीकृति दिन नसकिने वताएका थिए ।

प्रचण्डको योजना अनुसार चलिरहेका शर्माले पछि आफुले पनि एक जनालाई एआईजी बढुवामा भाग पाउनु गर्नु पर्ने सर्त राखे। गृहमन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री देउवा उनले भनेको डीआईजीलाई एआईजीमा बढुवा गर्न तयार भएपछि अहिले प्रकृया अघि वढेको स्रोतले वताएको छ।

गृह र अर्थबीच सहमति भएसँगै एआईजी थप गर्न संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) तयार भइसकेको छ। थपिएको दरबन्दी सीआईबी र प्रदेश समन्वय विभाग तथा मानव श्रोत एवम् प्रशासन विभाग फुटाएर राख्ने प्रस्ताव छ। यसअघि कार्य एवम् अपराध अनुसन्धान विभाग फुटाइएको थियो। 

माघ १२ गतेको राष्ट्रिय सभाको निर्वाचन सकिएपछि एआईजी थपको निर्णय गर्ने सरकारको तयारी छ। गृह मन्त्रालय श्रोतले भने बढुवा हुने एआईजीबारे पनि मोटामोटी सहमति भइसकेको जनाएको छ।

यसअघि केपी ओली नेतृत्वको सरकारले आफूनिकट दुई डीआईजीलाई एआईजीमा बढुवा गरेको थियो। सुरुमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोख्रेलको जोडमा विश्वराज पोख्रेल बढुवा भएका थिए। सरकार परिवर्तन हुने बेलामा सहकुल थापालाई पनि दरबन्दी थप गरेरै एकल एआईजीमा बढुवा गरिएको थियो। 

प्रचण्डले डीआईजी रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न चाहेका छन्। धानुक एआईजी बन्ने पक्काजस्तै रहेको गृह श्रोतले जानकारी दिएको छ। 

हालका डीआईजीमध्ये धानुक सातौँ नम्बरमा बढुवा भएका थिए। तर माथिल्लो वरीयतामा रहेका चार जना डीआईजी आईजीपीकै ब्याची हुन्। तीमध्ये ईश्वरबाबु कार्कीको एआईजीमा बढुवा हुने सम्भावना बढि छ। सोही ब्याचका वसन्तकुमार पन्त पनि एआईजीका लागि लबिइङमा छन्। धानुकभन्दा अगाडि रहेका धिरजप्रताप सिंह र वसन्तकुमार लामा पनि एआईजीको दौडमा रहेको वताईन्छ।

एआईजी

विशेष