News

असुली धन्दा चलाउने आफनै अनुसन्धान अधिकृतमाथि अख्तियारको छानविन

असुली धन्दा चलाउने आफनै अनुसन्धान अधिकृतमाथि अख्तियारको छानविन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयका तत्कालिन अनुसन्धान अधिकृत कृष्ण सुवेदीले स्थानीय तहसँग धम्क्याएर रकम असुली गरेको विषय अहिले आयोगका लागि टाउको दुखाई भएको छ।

सुवेदी अख्तियारको अनुसन्धान अधिकृत हुँदा सप्तरीका विभिन्न स्थानीय तहका योजनाहरूमा कुनै कैफियत देखिए जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति र प्राविधिकलाई धम्क्याउँदै मोटो रकम असुली गरेको खुलेको भन्दै उजुरी परेको थियो ।

पीडितले अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी दिएका छन्। त्यसबारे छानबिन भइरहेको अख्तियारका सहप्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् । सुवेदीले टेलिफोन र फेसवुक म्यासेन्जर मार्फत रकमको वार्गेनिङ्ग गर्ने गरेको उजुरीमा उल्लेख छ।

पहिला कार्यालयको ल्यान्डलाइनबाट फोन गर्ने त्यसपछि मोबाइलबाट फोन गरेर ‘कर्तव्य मानव’ नामको फेसबुक अकाउन्टमा जोडिन लगाउने सुवेदीले पैसाको बार्गेनिङ गर्ने गरेका थिए । सप्तरीको एक स्थानीय तहका कर्मचारीका अनुसार फोन र फेसबुकमार्फत रकमको बार्गेनिङ मिलेपछि सुवेदीले सम्बन्धित कर्मचारी, उपभोक्ता समिति पदाधिकारीलाई सुनसरी सदरमुकाम इनरुवा बोलाउँथे ।

इनरुवास्थित एक होटलमा बोलाउने र आफू ई–रिक्सामा त्यहाँ पुगेर ई–रिक्साबाटै रकम असुली गर्ने गरेका थिए । एक पटक रकम लिएका कर्मचारी, उपभोक्ता समिति पदाधिकारीलाई यसअघि गरेको फेसबुक च्याट र फोन संवादको रेकर्डिङ सुनाउँदै धम्क्याउने गर्दै आएका थिए ।

उनले भ्रष्टाचारको आरोपमा जेल चलान गरिदिने धम्की पीडितहरुले भिडियो÷अडियो वनाएर अख्तियारमा वुझाएका छन्। उजुरीपछि सुवेदीलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट केन्द्रीय कार्यालय तानिएको थियो । पछि उनको सरुवा सुनसरीकै जिल्ला प्रशासन कार्यालयमा भएको छ ।

गत मंसिर २२ मा उनले अख्तियारको इटहरी कार्यालयबाट रवाना लिई जिल्ला प्रशासन गएको अख्तियार स्रोतले बतायो । उनी गत वर्षको माघ मध्यतिर आयोगको हेटौंडा कार्यालयबाट इटहरी सरुवा भएका थिए ।
 

अख्तियार दुरुपयोग अनुसन्धान

विशेष