News अर्थ

किसानले पाउनु पर्ने मलको बिषयमा बुझ्न खोज्दा यसरी झपारे साल्टका कर्मचारीले

किसानले पाउनु पर्ने मलको बिषयमा बुझ्न खोज्दा यसरी झपारे साल्टका कर्मचारीले

कुनै पनि सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्व र चासोको सूचना सहजै पाउनु नागरिकको अधिकार हो । यस अधिकारको प्रयोगले सार्वजनिक निकायलाई पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउन ठूलो भूमिका खेल्छ।

सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वको सूचनामा नागरिकको सरल र सहज पहुँच हुनुपर्ने, राज्यका कामकारबाही लोकतान्त्रिक पद्धतिअनुरूप खुला र पारदर्शी बनाउनुपर्ने, राज्यलाई नागरिकप्रति जिम्मेवारी तथा जवाफदेहीपूर्ण बनाउनुपर्ने र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने उद्देश्यसहित नेपालमा सूचनाको हकसम्बन्धी ऐन पनि लागू भएको छ। 

तर, ब्यवहारमा भने यो ऐनको कार्यान्वयनको अवस्था दयनिय छ। उदाहरणका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड एउटा निकाय हुन सक्छ। साल्ट ट्रेडिङ, देशभरी रासायनिक मलको आपुर्ती गर्ने जिम्मेवारी लिएको निकाय हो। तर, यो निकाय सदावहार लाचार छ। हरेक वर्ष रासायनिक मलको अभावमा किसानले सास्ति काट्छन् । उनीहरुको रातको निद्रा र दिनको भोकप्यास सवै हराउँछ। तर, साल्ट ट्रेडिङका कर्मचारी भने मस्त निदाउँछन् ।

उनीहरुलाई न त किसानको चिन्ता छ, नत मलको आपुर्ती सहज बनाउनु पर्ने दायित्वको नै खयाल छ। यस वर्ष पनि साल्ट ट्रेडिङका कर्मचारीले गैरजिम्मेवारीका कारण किसानहरुले दुःख पाए । देशमा रासायनिक मल (खाद) को चरम अभाव छ। केही समय अगाडि एक बोरा मल पाउन प्रदेश २ का किसानले मुख्यमन्त्री लालवावु राउतको ‘हातखुट्टा’ नै समाएर विलौना गरेको तस्विरसहितको समाचार सार्वजनिक भयो। अहिले पनि यो अवस्थामा सुधार भएको छैन। 

तर, त्यो तस्विरले साल्ट ट्रेडिङ का कर्मचारीलाई पटक्कै छोएन। कर्मचारीहरुले त उल्टो किसान र सम्वन्धित ब्यक्तिलाई समेत हप्किदप्की गर्ने गरेका पाईएको छ। किसानका  समस्या र साल्ट ट्रेडिङका गतिविधिका विषयमा नेपाल आजबाट सम्पर्क गर्दा समेत उनीहरुको ब्यवहार रुखो र गैर जिम्मेवार पाईएको छ।

सुचनाका लागि साल्ट ट्रेडिङ कर्पोरेसनको ल्याण्डलाईन नम्वर ०१४२७१७०४ र ०१४२८८४७८ मा पटक पटक सम्पर्क गर्दा पनि फोन उठेन। ०१५३७०३१५ नम्वरको फोन उठयो तर सुरक्षाकर्मीले उठाए। उनले कुनै पनि कर्मचारीको मोवाईल नम्वर दिन नसक्ने वताएपछि अन्त्यमा कार्यालयका डिभिजनल म्यानेर व्रजेशकुमार झाको ९८५११...६६ को मोवाईल नम्वर पत्ता लाग्यो। रासायनिक मलको वारेमा जानकारी लिन खोज्दा उनले आफु प्रवक्ता नभएको वताए । निकै प्रयास गरेपछि उनले प्रबक्ता कुमार राजभण्डारीको ९८५१०३...३ नम्वर उपलब्ध गराए । तर, पटक–पटक सम्पर्क गर्दा पनि उनको फोन उठेन। त्यसपछि सिइओ उर्मिला श्रेष्ठको सम्पर्क नम्वरका लागि पुनः झालाई सम्पर्क गर्दा उनले फोन नम्वर नदिने मात्र होईन, आफुलाई देशको राष्ट्रपति भन्दा माथिको हैसियतमा प्रस्तुत गर्दै ‘तपाई कोसँग कुरा गर्दै हुनुहुन्छ ? म एक्सचेन्ज होर ?’ भन्दै प्रश्न गरे।

उनले ‘तपाईलाई कोसँग कुरा गर्दैछु भन्ने थाहा छ, जिम्मेवार भएर कुरा गर्नोस’ भन्दै उल्टै पत्रकारलाई  नै जिम्मेवारी सिकाए । हामीले आफनो जिम्मेवारी वुझेरै ‘किसानले मल पाएका छैनन्, साल्ट ट्रेडिङले के गर्दैछ ?’ भनेर वुझन खोजेको भन्दा उनले ‘त्यसको जिम्मेवारी मैले किन लिने ?’ भन्दै गैरजिम्मेवार उत्तर दिए । तपाई एउटा कार्यालयको कर्मचारी भएर यस्तो कुरा गर्न मिल्छ सर? भन्ने प्रश्नमा भने उनले आफु घरमा रहेको र विरामी भएको कुरा सुनाए। 

करिव २/३ मिनेटसम्म विवाद गरेका झाले नत सिइओ श्रेष्ठको नम्वर दिए नत कार्यालयको गतिविधि र रासायनिक मलको अवस्थाका वारेमा कुनै जानकारी दिए । अन्तयमा उनले फोन काटे।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड व्रजेशकुमार झा

विशेष