News

यसरी घट्यो नेपालको जनसंख्या

यसरी घट्यो नेपालको जनसंख्या

केन्द्रीय तथ्यांक विभागले गत वुधवार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको प्रारम्भिक नतिजा सार्वजनिक ग¥यो। नतिजा सार्वजनिक भएसँगै तथ्यांकका विषयमा चौतर्फी आशंका छ। 

तथ्यांकप्रति आशंका गर्नेहरुले जनसंख्या अहिले सार्वजनिक भएभन्दा बढी रहेको जिकिर गर्दै आएका छन् । उनीहरूका अनुसार सहरी क्षेत्रमा डेरामा बस्नेहरू जनगणनामा छुटेका छन्। ‘परिवारमा जाँदा डेरा वसेकै ठाउँमा गणना हुन्छ भन्ने र डेरामा जाँदा स्थायी वसोवास भएको घरमै गणना हुन्छ भन्ने दुई खालका कुराले धेरै मान्छे गणनामा परेनन्’ उनीहरु भन्छन्–‘यो समस्या एक/दुई ठाउँ होईन, सर्वत्र देखिएको छ।’

तर, केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले भने ‘त्यस्तो हुनै नसक्ने’ वताउँदै ‘जनगणना गर्नु जसरी राज्यको दायित्व हो, त्यसैगरी आफू गणना हुनु नागरिकको जिम्मेवारी हो। जानी–जानी गणकले कसैलाई छुटाएका छन् जस्तो लाग्दैन’ भन्दै जवाफ दिएका छन् ।

यता, गणनामा छुटेकाहरुले भने गणकले कुरा नवुझेका कारण आफुहरु गणनामा छुटेको दावी गर्दै आएका छन् । डेरा वसेकाहरुको नाम डेराबाटै संकलन गर्ने वा घरपरिवारसँग सगोलमा संकलन गर्ने विषयमा उनीहरु प्रष्ट नहुदा ‘परिवारमा जानेले डेरा देखाउने र डेरामा जानेले परिवार देखाउने’ गरेको उनीहरुको भनाई छ।

घर परिवारबाट वाहिर रहेका अधिकांशलाई गणनामा संलग्न नगराईएकाले नै नेपालको जनसंख्या कम देखिएको जानकारहरु वताउँछन् ।

राष्ट्रिय तथ्यांक विभागले जनगणना गर्न पहिलो चरणमा २०७८ भदौ ३० देखि असोज १८ सम्म घरपरिवार सूचीकरणका लागि र दोस्रो चरणमा कात्तिक २५ देखि मंसिर ९ सम्म मूल गणनाका लागि कर्मचारी खटाएको थियो।

जनगणनाका लागि प्रदेश तथा जिल्लास्तरमा व्यवस्थापकीय कामका लागि १ हजार ८ सय ७१, जनगणना गर्न ८ हजार ५ सय सुपरीवेक्षक र ३९ हजार गणक खटिएका थिए ।
 

जनसंख्या

विशेष