News खेल

विमलको गोलमा मोरिसस विरुद्ध नेपालको जित

विमलको गोलमा मोरिसस विरुद्ध नेपालको जित

दशरथ रंगशालामा शनिवार भएको मैत्रिपुर्ण खेलमा नेपाली फुटबल टोलीले मोरिससलाई पराजित गरेको छ । नेपालले मोरिससलाई १—० गोलले पराजित गरेको हो ।

खेलको ५५औं मिनेटमा विमल घर्तिमगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । अन्जन बिष्टको लङ पासमा पेनाल्टी एरियाबाट विमलले गरेको गोल नै नेपालको जितका लागि निर्णायक बन्यो । 

विमल ०७६ मा जोर्डनविरुद्ध विश्वकप छनोटमा अन्तर्राष्ट्रिय खेल खेलेपछि घुँडाको चोटका कारण लामो समय मैदान बाहिर रहेका थिए । उनी जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग बाट खेलमा फर्किएका थिए ।

मोरिससविरुद्धको खेलबाट नै जगजित श्रेष्ठले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । उनी खेलको ६०औं मिनेटमा सुनिल बलको ठाँउमा मैदान प्रवेश गरेका थिए । सन् २०१७ मा फिलिपिन्स विरुद्ध विश्वकप छनोट खेलेर अष्ट्रेलिया गएका जगजित हरेक वर्ष लिग खेल्न नेपाल आउने गर्छन ।

अहिले पनि लिग खेलिरहेका उनले राष्ट्रिय टोलीमा स्थान बनाउँदै करिब पाँच वर्ष पछि अन्तर्राष्ट्रिय खेल खेलेका हुन् ।

सातदोबाटो युथ क्लबबाट ए डिभिजन लिग खेलीरहेका मिडफिल्डर सुदिप गुरुङले यसै खेलमार्फत अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका छन् । खेलको ८३औं मिनेटमा सुरज जिउ ठकुरीको स्थानमा मैदान प्रवेश गर्दै उनले राष्ट्रिय टोलीबाट डेव्यु गरेका हुन् ।

यस्तै, सातदोबाटोकै आकाश बुढामगरले पनि राष्ट्रिय टोलीमा डेव्यु गरेका छन् । उनले खेलको इन्जरी समयमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दे डेव्यु गरे ।
 

फुटबल

विशेष