News अपराध सुरक्षा

मिटरब्याजी र मानव तस्करको साईड धन्दाः अफिस खोलेर यौन ब्यापार

मिटरब्याजी र मानव तस्करको साईड धन्दाः अफिस खोलेर यौन ब्यापार

ललितपुरको ललितपुर महानगरपालिका–३ कान्तिपुरहाइटमा अपार्टमेन्ट नै भाडामा लिएर यौन धन्दा सञ्जालन गर्ने गरेको पाईएको छ। कासाबेल अपार्टमेन्टबाट यौन धन्दा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेपछि यो तथ्य सार्वजनिक भएको हो ।

अपार्टमेन्ट को ५ औं तल्लामा यस्तो धन्दा चलेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। त्यहाँबाट प्रहरीले हेटौँडा उपमहानरपालिका– ३ सानोपोखराकी ४२ वर्षीया गीता खड्गी, झापा दमक नगरपालिका– ७ का ५० वर्षीय राजेश अग्रवाल, रुकुमकी २३ वर्षीया ललिता बिक, बर्दिया ठाकुरबाबा नगरपालिकाकी २९ वर्षीय सुनिल विष्ट, काठमाडौं बालाजु बस्ने क्रिष्टिना केसी, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका– ३ की २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका–७ का ३३ वर्षीय प्रतीक कर्माचार्यलाई पक्राउ गरेको छ।

ललितपुरका गौरी (नाम परिर्वतन) ले उक्त अपार्टमेन्टमा यौन व्यवसाय चलाउँदै आएको पूर्व सूचनाका आधारमा प्रहरीले त्यहाँ छापा मारेको थियो। करिव ६ महिनाको अनुसन्धानपछि प्रहरी अपार्टमेन्टमा पुगेको ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले वताईन। यौन ब्यवसाय सञ्चालक हाल फरार रहेकाले प्रहरीले उनको पहिचान खुलाएको छैन।

प्रहरीका अनुसार यौनधन्दा चलाउने मुख्य व्यक्ति पैसा मिटरब्याजमा लगाउने र मानव बेचबिखनमा समेत संलग्न छन्। प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी रहेको छ। यौन धन्दाको वास्तविक्ता पत्ता लगाउन प्रहरी नै ग्राहक वनेर गएका थिए ।

अपार्टमेन्टलाई अफिसका रुपमा  राखेको र ढोकामा अत्याधुनिक सेक्युरिटी सिस्टमको लक कोड राखिएकाले धेरैले जानकारी समेत नपाएको प्रहरीले जनाएको छ।

फोनमार्फत ग्राहक खोज्ने र उनीहरूलाई सम्पर्क गरेर यौनधन्दा चलाउने गरेको देखिएको प्रहरीले जनाएको छ। एसएसपी बज्राचार्यका अनुसार उनीहरूले यौन धन्दा व्यवसायिक रूपमा चलाउँदै आएको समेत पुष्टि भएको छ। त्यसका लागि उनीहरूले एक जना लेखापाल समेत राखेका थिए।

लेखापालले दैनिक आउने ग्राहकको विवरण, आम्दानी, र  कमिसनको हिसाव राख्ने गरेका थिए । हिसावका लागि ३ वटा ‘डे बुक’मा पैसाको व्यवस्थापन गर्दै आएको देखिएको छ। एक युवतीबाट उनीहरुले २५ प्रतिशत कमिसन समेत लिने गरेका थिए।

व्यक्ति हेरेर ग्राहकसँग ३ हजारदेखि १० हजारसम्म लिने गरेको देखिएको छ। पक्राउ परेका महिलाहरूसँग लिएको प्रारम्भिक अनुसन्धानमा उनीहरूले लगभग १०/१२ हजार व्यक्तिहरूसँग सम्पर्क भएको देखिएको छ । जसमा नाम चलेका ब्यापारी समेतको नाम छ।

यौन धन्दा कासाबेल अपार्टमेन्ट

विशेष