News राजनीति

लिङदेनलाई कमल थापाको धम्कीः राप्रपा दुर्घटनामा पर्न सक्छ

लिङदेनलाई कमल थापाको धम्कीः राप्रपा दुर्घटनामा पर्न सक्छ

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पदाधिकारी र विभाग प्रमुखहरू मनोनित गरेपछि पूर्वअध्यक्ष कमल थापाले लिङ्देनलाई पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

थापाले नेतृत्वले सबै पक्षलाई नसमेटे पार्टी दुर्घटना पर्ने चेतावनी दिएका छन् । ‘तपाईं पार्टीको गरिमामय अध्यक्ष पदमा निर्वाचित भइसक्नु भयो । मैले निर्वाचन परिणामलाई चुनौती दिएको छैन । आउँदो पाँच वर्ष तपाईंले नै पार्टीलाई हाँक्ने हो’ थापाले पत्रमा लेखेका छन्, ‘सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईंको मुख्य जिम्मेवारी हो ।’

गत मंसिरमा भएको एकता महाधिवेशनमा थापालाई पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित भएका थिए । थापाले पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले राप्रपाको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाउदै आएका छन् ।

आइतबार लेखेको पत्रमा पनि थापाले पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको विरोध गर्नु राजसंस्था प्रतिको विरोध नभएको स्पष्ट पारेका छन् । निर्मल निवासका लागि पार्टी नखोलेको भन्दै थापाले लेखेका राप्रपा राष्ट्रवादी र प्रजातन्त्रवादी मान्यता बोकेका स्वाभिमानी जनताको पार्टी भएको दावी गरेका छन् ।

यसअघि अध्यक्ष लिङदेनले पार्टीको विधानअनुसार विभिन्न पदाधिकारीहरु मनोनित गरेका थिए । उपाध्यक्षमा मुकुन्दश्याम गिरी र हेमजंग गुरुङ, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साह, सहमहामन्त्रीमा धनबहादुर बुढा, श्यामबहादुर शाही, मोहनप्रसाद यादव, प्रकाश रिमाल, रीना गुरुङ, झनक प्याकुरेल र रवीन्द्रप्रताप शाहलाई मनोनित भएका छन्। 

राप्रपाको प्रवक्तामा मोहन श्रेष्ठ, सगुनसुन्दर लावती, गोपाल दाहाल र भक्तिप्रसाद सिटौला मनोनित भएका छन् । सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अली र दीपक कुमार राई मनोनीत भएका छन् ।

राजेन्द्र लिङ्देन कमल थापा

विशेष