News

सिङ्गो रुखले पुजा-आराधना गरिने थलिनौविसको लाकुडी लाईनी पर्व सुरु

सिङ्गो रुखले पुजा-आराधना  गरिने थलिनौविसको लाकुडी लाईनी पर्व सुरु

बझाङ जिल्ला छविस पाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकाको मुटु मानिने थली नौबिसको पवित्र भुमी  थली जिउलाको दुर्गादेबी मन्दिरमा लाकुडी लाइनी पर्व सुरु भएको छ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडान ०६ स्थित दुर्गादेवीको मन्दिरमा यो पर्व मनाईन्छ । सल्लाको सिङ्गै रुख काटेर एउटा पनि हागो क्षती नुपुर्याएर दुर्गादेवी मन्दिरमा ल्याउने प्रचलन छ जसलाई लाकुडी लाइनी भनिन्छ  । लाकुडी लाइनी पर्व (जात)  माघ १५ र १६ गते  दुई दिनसम्म लाग्ने गर्दछ । १५ गते लेकगाउंको दैपाडबाट विहानैदेखी निराहार बर्त बसेर यो पर्व मनाइएको छ । माघकी उबासु नामले चिनिने  १५ गते बाठपाला देबताको मन्दिर  दैपाडमा पुजा आराधनागरी बाठपाला देबताका फाग गाउदै, बेलुकी जाग्राम (खडरात्रि)  बसेर मनाउने प्रचलन छ । हरेक बर्ष  माघ  १५ र १६ गते मनाउने यो पर्व थली नौबिसको धार्मिक, सामाजिक, सास्कृर्तिक महत्त्वको पर्व हो ।
 
निरहार वर्त (पानी नखाएर) यहाँका मानिसहरु विहानैदेखी खाली खुट्टा मन्दिर गएर पूजा आराधाना गर्छन् । खाली पेट र मुखमा जौंको पात  राखेर निराहार वर्त वसि वाठपाला  देवतालाई पूजा गरेमा  अन्नवाली राम्रो हुने,सन्तान प्राप्ती हुने घरमा लौ लछिन हुने, धन दौलतपनी राम्रो हुने जनविश्वास रहदै आएको छ । दिनभरी मन्दिरमा पूजापाठ गरी बेलुका बाठपाला देवताका फाग गाउंदै उपासना बस्दा गुरु बाठपालाले मनले सोचेको बरदान दिने जनबिस्वास पाइन्छ । 

उवासुको दोस्रो दिन अर्थात माघ १६ गते थलिनौविसको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल थलि जिउलाको दूर्गा मन्दिरमा लाकुडी लगाउने  चलन छ ।  सल्लाको सिङ्गो रुखलाई  लाक्रो भनिन्छ । सिङ्गोे सल्लाको रुख नै उचालेर  दुर्गादेबिको मन्दिरमा लाकुडी चढाउने परम्परा रहेकोले यसलाई लाकुडी लाईनी पर्व भनिएको हो । वास्तबमा यो छविसपाथिभेरा गाउँपालिकाको वडानं ६ लेकगाउँबाट सुरु हुन्छ । लेकगाउँको दैपाडबाट चहचह गर्दै चलाउने परिवारले आलम, बैसेक, आसागुर्ज,  लगायतको सामाग्री सहितको डोला ल्याएपछि यो पर्व प्रारम्भ हुन्छ । 

नयाँ लाकुडी मन्दिरमा पुर्याइसकेपछि अघिल्लो वर्ष चढाएको लाकुडी ढालेर भणार सोर्ने कार्य गरेपछि सवै जना नयाँ लाकुडी ढालेको ठाऊमा वाजागाजा सहित नयाँ लाकुडी ल्याउन तिलेली धार जाने प्रचलन छ । काडागाइ भनिने दौल्याल परिवारको पुजारीले सिङ्गो सुख  ढाल्नुपर्छ । त्यो  सिङ्गो रुखलाइ नै नबिगारिकन नभाचिकन जस्ताको तेस्तै ल्याउने प्रचलन छ । थली नौबिसका चारै गाउँका  भक्तजनका साथै  छबिसपाथिभेरा र दुर्गाथली गाउँपालिकाको जुजीबाट  साथै खप्तड छान्नाबाट समेत  मानिसहरु श्रदालु भक्तजनहरु आउने  प्रचलन छ ।
 
मार्सिधान फल्ने थली जिउला आफैंमा प्रसिद्ध भुमी हुँदै हो त्यस्तै जिउलाको पुर्व पट्टि जोडिएको २२०१ सिढी रहेको सिंजाली महाराजाले बनाएको सिढी (खुट्टकुडी) पनि यहाँको प्रसिद्ध ऐतिहासिक स्थान हो । मासको गाह्रो लगाएर बनाएको १०० मिटर भन्दा अग्लोठाउँमा बनाएको  पुल माटेसाँगु पनि ऐतिहासिक ठाउका रुपमा परिचित छ ।  विसौना वजारले यो ठाउँमा घुम्नलाई थप  आकर्षक बनाएको छ । 

स्थानिय युवाले निर्माण गरे मन्दिर
धार्मिक, सास्कृर्तिक, प्राकृतिक दृष्टिकोणले  सुदुरपस्चिम कै एउटा मुख्य  आकर्षण  भएपनि  राजनीतिक रुपमा  स्थानीय  कार्यकर्तामुखी योजना निर्माण जस्ता कार्यले  दुर्गादेवीको मन्दिर जहिल्यै छायामा परेको छ । अहिले थलिनौबिसका युवाहरुले युवा संजाल मार्फत देउसी भैलो, चन्दा संकलनगरी १६ लाख बराबरको मन्दिर  निर्माण गरेको छ । ताम्रपत्रले छाएर निर्माण गरिएको  जनस्तरमा  युवाहरु मिलेर  बनाएको दुर्गा  देबिको मन्दिर  बझाङको बिकाशका लागि एउटा नमुना हो ।

पश्चिमा संस्कृर्तिको भुतले हाम्रो आफ्नो  सस्कृती माथी प्रहार गरिरहेको अबस्थामा  यहाँको  मौलिक सस्ंकृर्तिलाई जोगाउन  जरुरी छ । प्रकृती पुजाको रूपमा सिङ्गो रुखको पुजा गरेर, ठकुरि जातिले  कुखुराको अन्डा  चढाएर,  यहाँका दलितहरुले बाजा बजाएर,  गर्खाल सबै जातिले भुमिको र पाङ्गरको रुखलाई  पुजा गरेर, सुख चढाएर यो पर्व मनाउने गर्छन् । 

पछिल्लो पुस्तालाई हाम्रो  नेपाली संस्कृर्तीका राम्रा कुराहरुको प्रचार गर्दै हाम्रो मौलिकताको रक्षा  गर्न सके यस क्षेत्रका धार्मिक, सांस्कृर्तिक र पर्यटकिय दृष्ठिकोणले यहाँको बिकाश हुने देखिन्छ । जिल्लाका विभिन्न स्थाल तथा जिल्लाबाहिर महेन्द्रनगर, धनगढी, काठमाडौंसँगै भारतको दिल्ली, ब्याङलोरबाट  समेत यो पर्व मनाउन मानीसहरु आउने भएकोले यो पर्वको गरिमा बढेको छ । 
संकलक –गणेश बुढा 
(सांस्कृर्तिक अभियानताा, थली नौबिस युवा संजाल बझाङ्ग इन्चार्ज)

लाकुडी लाइनी पर्व छबि पाथिभेरा

विशेष