News राजनीति

रुखमा भोट हाल्न नपाएको झोकमा कांग्रेस नेता गुरुङले दिए राजिनामा

रुखमा भोट हाल्न नपाएको झोकमा कांग्रेस नेता गुरुङले दिए राजिनामा

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले ज्यान जोखिममा परेको भन्दै पार्टीको क्रियाशील सदस्यसमेतबाट राजीनामा दिएका छन् । गुरुङले कांग्रेसमा रहेर कांग्रेसको राजनीति गर्न नपाएकोमा पनि असन्तुष्टि जनाएका छन् । 

सभापति शेरवहादुर देउवालाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा उनले कांग्रेसभित्र आदिवासी जनजातिका मुद्दा उठाउँदा ज्यानको जोखिम बढेको र कांग्रेसले रुखमा भोट माग्नुपर्ने ठाउँमा कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो र कहिले छाता चिन्हमा भोट हाल्नु परेको भन्दै दुखेसो गरेका छन् ।

‘आदिवासी जनजातिलाई हेर्ने दृष्टि नियाल्दा पार्टीको नेतृत्वमा भएकाहरूले पार्टीको चिन्ता लिनुको सट्टा, आदिवासी जनजातिको मुद्दा उछाल्नेलाई कसरी सिध्याउने चिन्ता, परिवारको चिन्ता, धनको चिन्ता, हिन्दू राष्ट्र घोषणाको धर्म निरपेक्षको खारेजको चिन्ता लिनु नेपाली कांग्रेसले रुखमा भोट माग्नु पर्ने ठाँउमा कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो, कहिले छाता आदिमा मतदान गर्न पठाउने साथै संगठनमा भन्दा गुट–उपगुट समूहमा ध्यान दिने आदि कारणले म आजको मितिदेखि नेपाल आदिवासी जनजाति संघको सभापति र पार्टीको क्रियाशील सदस्यताबाट समेत राजीनामा गर्दछु’– उनले लेखेका छन्।

नेता गुरुङ कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन् । उनले पहिलो संविधानसभामा आदिवासी जनजाति सभासद ककसको समेत नेतृत्व गरेका थिए ।
 

इन्द्रबहादुर गुरुङ

विशेष