News अपराध सुरक्षा

सिडिओ र एसपीसँग गृहमन्त्रीको छलफलः एमसीसी विरुद्धको आन्दोलन रोक्ने तयारी

सिडिओ र एसपीसँग गृहमन्त्रीको छलफलः एमसीसी विरुद्धको आन्दोलन रोक्ने तयारी

गृहमन्त्री बालकृष्ण खाँड पछिल्लो समय जिल्लाको सिधा सम्पर्कमा छन्। उनले सिडिओ र प्रहरी प्रमुखसँग टेलिफोन सम्पर्क गरी जिल्लाको शान्ति सुरक्षा अवस्था र अगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौतीका विषयमा सल्लाह गरिरहेका छन् ।

गृहमन्त्री खाँडको टेलिफोन बार्ता खासगरी अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सँग सम्वन्धित रहेको मन्त्रालय स्थानीय प्रशासन प्रमुखहरुले जानकारी दिएका छन् । सरकार जतिसक्दो चाँडो एमसीसी संसदमा पेस गर्ने र जसरी पनि पारित गराउने मनसायले अघि वढेको छ।

प्रधानमन्त्री शेरवहादुर देउवाले सत्ता गठवन्धनको वैठकमा डेटलाईन नै तोकेर एमसीसी पास गर्न आफुलाई दवाई आईरहेको वताउने गरेका छन् । जसका कारण उनी जसरी पनि यो सम्झौता संसदमा टेवुल गर्ने प्रयासमा छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एस यथास्थितीमा एमसीसी पास गर्न नहुने पक्षमा रहेको र समुदाय स्तरमा पनि एमसीसीप्रति सकारात्मक धारणा नरहेकोले सम्भावित आन्दोलन र क्षतीको अवस्थालाई मध्येनजर गरी गृहमन्त्रीले तयारी गरिरहेको वताईएको छ।

गृहमन्त्री खाँडले एमसीसी पारित गर्दा हुन सक्ने आन्दोलन र त्यसलाई निस्तेज गर्न अपनाउनु पर्ने सुरक्षा तयारीका विषयमा उनले निर्देशन समेत दिईरहेको वताईन्छ। यसैगरी, उनले कोरोना संक्रमण र सिके राउत नेतृत्वको जनमत पार्टीका गगिविधि बारे पनि जानकारी लिईरहेका छन् । 

यो पनि- एमसीसी प्रकरणमा प्रचण्डले छोडे देउवाको साथ, एमालेसँग छलफल

गृहमन्त्री खाँडले सोमवार झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहट गरी १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन् । उनले शान्ति सुरक्षाको अवस्था, कोरोना संक्रमण, प्रहरीमा संक्रमणको प्रभाव र प्रहरीको रासनबारे चासो ब्यक्त गरेको वताईएको छ।

सप्तरीका एसपी अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको स्थिति र सिके राउतको आन्दोलनको अवस्थाबारे मन्त्रीले जानकारी लिएको बताए। 

यसैगरी, झापाका एसपी विश्वमणि पोखरेल, सिरहाका एसपी अर्जुन तिमिल्सिनालगायतले पनि गृहमन्त्री खाँडले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता, शित लहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए।

यसअघि गृहमन्त्री खाँडले शनिवार २० जिल्लाका सिडिओसँग पनि टेलिफोन वार्ता गरेका छन् । मनाङका सिडिओ रविन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शंकरहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल, सोलुखुम्बुका गणेशविक्रम शाही, मुगुका रोमबहादुर महत, खोटाङका फणिन्द्र दाहाल, ओखलढुंगाका दिलकुमार तामाङ, सुनसरीका इन्द्रदेव यादव, उदयपुरका विरेन्द्रकुमार यादव र पाँचथरका सिडिओ सुरेश न्यौपानेसँग उनले टेलिफोन वार्ता गरे ।

त्यस्तै सिन्धुपाल्चोकका बेदनिधी खनाल, इलामका माधवप्रसाद ढुंगाना, रसुवाका नवराज जैशी, म्याग्दीका चिरनजीवी राना, लमजुङका सुशील वैद्य, सप्तरीका जनार्दन गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका सिडिओ पर्वतदेवी पाण्डे खत्रीसँग पनि उनले टेलिफोनमा जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएका थिए।

यो पनि

एमसीसी प्रकरणमा प्रचण्डले छोडे देउवाको साथ, एमालेसँग छलफल

 

बालकृष्ण खाँड

विशेष