गगनलाई पहिलो पटक महामन्त्रीको प्रस्ताव गर्ने गौडेल बाँके सभापतिका उम्मेदवार !
नेपाली कांग्रेसका नेता गगन थापालाई पहिलो पटक महामन्त्रीको लागि प्रस्ताव गर्ने नारायण प्रसाद गौडेल बाँके कांग्रेसको सभापतिका उम्मेदवार वन्ने भएका छन् ।
गौडेल समुहले आजै पदाधिकारीहरुको घोषणा गर्दैछ । उनले दिउँसो १ बजे पार्टी कार्यालय नेपालगञ्जमा पदाधिकारीका उम्मेदवारहरुको घोषणा गर्न लागेका छन्।
गौडेल समूहबाट उपसभापतिमा गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र आशिष काफ्ले तथा सहसचिवमा रेणु सिंह र विश्वराज लम्साल उम्मेदवार बन्ने टुंगो लागेको छ।
नयाँ परिस्थिति विकसित नभए यो लिष्टमा परिमार्जन नहुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीका सदस्य टेकनारायण भुषालले बताए । गौडेल समूह पार्टीभित्र संस्थापन इतर समूह हो । डा.शेखर कोइराला निकट गौडेल समूह प्रचारमा जुटिसक्दा संस्थापन समूह भने अलमलमै छ ।
संस्थापन समुहमा सभापतिका धेरै आकांक्षी हुँदा उम्मेदवार टुंगो लाग्न सकेको छैन । सभापति शेरबहादुर देउवा निकट बादशाह कुर्मी, सुरेन्द्र हमाल र निरन्जनसिंह सिजापतिबीच आधिकारिक उम्मेदवार बन्ने प्रतिष्पर्धा छ । स्रोतका अनुसार कुर्मीको सम्भावना बढी छ । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन पुष २७ गते हुँदैछ ।