रामकुमारी झाँक्रीले पनि खाईन ‘पिर्के सलामी’ !

०७४ सालको स्थानीय तथा प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि जनप्रतिनिधिहरुमा सलामी खाने होडवाजी चल्यो। पिर्का, टुवुल र कुर्षीमा समेत सलामी खान थालेपछि जनप्रतिनिधिले आलोचना बेहोर्नु परेका कैयौं उदाहरण छन्।
पिर्कामा भए पनि उभिएर सलामी लिएका दृश्य सार्वजनिक हुन थालेपछि जनप्रतिनिधिको सलामी मोहलाई संकेत गर्दै ‘पिर्के सलामी’ को संज्ञा दिन थालिएको थियो। पिर्के सलामीबाट धेरै जसो स्थानीय तहका जनप्रतिनिधिहरु वद्नाम भए ।
तर, गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कर्णाली प्रदेशका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, प्रचण्ड पुत्री रेणु दाहाललगायत नेताहरु पनि ‘पिर्के सलामी’ बाट अछुत रहन सकेनन् । उनीहरुको आलोचना नगर्ने सायद कोही थियो होला।
रातो पिर्का वा टेबलमा चढेर सलामी ग्रहण गर्ने जनप्रतिनिधिको ब्यापक आलोचना गर्नेमा नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्री (तत्कालिन नेकपाकी नेतृ) पहिलो नम्वरमा थिईन।
उनले स्थानीय तहका कुनै जनप्रतिनिधिले पिर्कामा उभिएर सलामी खाएको फोटो ट्वीट गर्दै आलोचना गरिन। उनको यो ट्वीटपछि झाँक्रीलाई क्रान्तिकारी नेतृ र आडम्वरी प्रवृत्तिको विरोधीका रुपमा धेरैले प्रसंसा गरे । तर, तिनै क्रान्तिकारी नेतृ अहिले पिर्के सलामीको मोहमा परेर वदनाम भएकी छिन् ।
आफ्नो गृहजिल्ला गुल्मीमा आईतवार उनले प्रहरीबाट पिर्के सलामी लिएको फोटो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ। झाँक्रीले गुल्मीको मदाने गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहलमा प्रहरीबाट ‘पिर्के सलामी’ खाएकी हुन् ।
विगतमा त्यही सलामीको बिरोध गर्ने झाँकीले अहिले आफैले पिर्के सलामी खाएपछि सामाजिक सञ्जालमा उनको आलोचना हुन स्वभाविकै हो।