News अपराध सुरक्षा

कांग्रेस सभापतिलाई गोली हान्ने धम्की दिएको आरोपमा एसपी पाण्डे निलम्बित

कांग्रेस सभापतिलाई गोली हान्ने धम्की दिएको आरोपमा एसपी पाण्डे निलम्बित

सिरहाका कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका एसपी हीराबहादुर पाण्डे निलम्वनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले उनलाई मंगलबार ३ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो। प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए ।

६ महिनाअघि मात्र सिरहा प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसपी पाण्डेलाई ३ दिनअगाडि प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर सरुवा गरेको थियो । पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।

कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका थिए ।

यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १ः२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका हुन् । ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा एसपी पाण्डेविरुद्ध जाहेरी परेको थियो ।

एसपी पाण्डेले भने आफूले कानुनबमोजिम काम गर्दा विवाद झिकिएको दाबी गरेका छन्। 
 

रामचन्द्र यादव हीराबहादुर पाण्डे

विशेष