News विदेश स्वास्थ्य

कोरोनाले २८ दिन कोमामा रहेकी नर्सलाई भियाग्राले बचायो

कोरोनाले २८ दिन कोमामा रहेकी नर्सलाई भियाग्राले बचायो

बेलायतमा कोरोनाका कारण मृत्युको मुखमा पुगेकी एक नर्सलाई भियाग्राले पुनर्जीवन दिएको छ। ३७ वर्षीया नर्स मोनिका अलमेइडा कोरोना संक्रमण भएपछि २८ दिनसम्म अचेत अवस्था (कोमा) मा पुगेकी थिईन। स्वास्थ्यकर्मीले उनलाई वचाउने सबै उपाय असफल भएपछि भिएग्रा दिएर उपचार गरेका थिए । भियाग्रा दिएपछि भने उनी ठिक भएकी छिन् ।

मोनिकाले भनिन्, ‘डाक्टरले भिएग्रालाई औषधिको रुपमा प्रयोग गरेको बताएपछि म हाँसे र मजाक गरेको ठानेकी थिए। तर उहाँले साँच्चै नै भिएग्राको धेरै डोज दिएको बताउनु भयो ।’

लिङ्कनशायरस्थित एक स्वास्थ्य केन्द्रमा काम गर्दा मोनिकालाई कोभिड संक्रमण भएको थियो । अक्टोबरमा कोभिडबाट संक्रमित भएकी उनले संक्रमण भएको चौथो दिनमा खानाको स्वाद र गन्ध पाएकी थिइनन् भने खोक्ने क्रममा खराकमा रगत देखिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा घटेपछि अर्को दिन अस्पताल गएकी मोनिकालाई कुनै उपचार नगरिकनै औषधि मात्रै दिएर डिस्चार्ज गरिएको थियो । तर अस्पतालबाट घर आएको २ घण्टाभित्रै सास फेर्न समस्या भएपछि उनी लिङ्कन काउन्टी हस्पिटलमा गइन् र अस्पताल पुगेलगत्तै उनलाई अक्सिजन कक्षमा लगिएको थियो ।

मोनिकाको शरीरमा अक्सिजनको मात्रा सामान्य तहमा पु¥याउन स्वास्थ्यकर्मीले निकै कसरत गरेका थिए । तर उनको अवस्था बिग्रँदै गएपछि उनलाई आईसीयूमा राखिएको थियो । अवस्था निकै गम्भीर बन्दै गएपछि नोभेम्बर १६ गते उनी अचेत भएकी थिइन् ।

मोनिका अचेत भएपछि उनका बाबुआमालाई अन्तिम बिदाईका लागि पोर्चुगलबाट इङल्याण्ड आउन भनिएको थियो । यसैबीच, उनको उपचार गरिरहेका डाक्टरले बचाउने आशा हराउँदै गएपछि अस्वभाविक उपचार विधि प्रयोग गर्ने निधो गरे । यसै क्रममा उनलाई यौन क्षमता बढाउने भिएग्रा दिएर उपचार गर्न थालियो ।

भिएग्रा दिएर उपचार गरेपछि मोनिकाको अवस्था सुधार हुँदै आयो र डिसेम्बर १४ गते उनको होश खुल्यो । त्यसपछि उनलाई क्रिसमसको अघिल्लो दिन घर जान दिइयो । भिएग्रा प्रयोग गरेपछि शरीरका रक्तनली सफा हुने र श्वासप्रश्वास नली खुल्ने भएकाले यसलाई कोभिड संक्रमितको सम्भावित उपचारमा प्रयोग गर्न सकिने तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ ।

शरीरमा अक्सिजनको मात्रा बढाउने नाइट्रिक अक्साइड झैं भिएग्रालाई प्रयोग गर्न सकिने वा नसकिने भनेर हाल अनुसन्धान भइरहेको छ । 
 

मोनिका अलमेइडा

विशेष