News

राधेश्यामका हत्यारालाई पक्राउ नगरेको भन्दै गृहमन्त्रीको पुतला दहन

राधेश्यामका हत्यारालाई पक्राउ नगरेको भन्दै गृहमन्त्रीको पुतला दहन

बाराका राधेश्याम पटेलको हत्यारालाई कारवाहीको माग गर्दै राष्ट्रिय एकता अभियानले शुक्रवार सप्तरी सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गरेको छ।

जेहादी इस्लामिक आक्रमणमा पटेलको हत्या भएको भन्दै उनका आफन्त र अभियानले हत्यारालाई कारवाहीको माग गर्दै राजविराजको नेता चौकमा विरोध प्रदर्शन गरेका हुन । 

अभियानकी उपाध्यक्ष सुनिता साहको नेतृत्वमा भएको प्रदर्शनमा गृहमन्त्रीको राजिनामा मागिएको छ। प्रदर्शनका क्रममा ‘राधेश्याम पटेलका हत्यारालाई कार्यवाही गर, इस्लामिक आतंकवाद बन्द गर, मुख्यमन्त्री मोहम्मद लालबाबु राउत मुर्दावाद’ लगायतका नारा लगाईएको थियो।

प्रदर्शनकारीहरुले गृहमन्त्री बालकृष्ण खाँडको पुतला पनि जलाएका छन् ।

हिन्दुहरुको धर्मावलम्वीहरुको पर्व छठको बिषयलाई लिएर कार्तिक २५ गते दुई पक्ष बीच भएको झडपमा कलैया उपमहानगरपालिका वडा नम्बर १९ ढोडिया पचायनपुर टोलका १८ वर्षीय पटेल गम्भीर घाईते भएका थिए । उनको उपचारका क्रममा ५६ दिनपछि बुधबार साँझ साढे ५ बजे न्यूरो अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो।

घटनामा स्थानीय आठ जना ब्यक्तिहरुले पटेलमाथि आक्रमण गरी गम्भीर घाईते बनाएका थिए । आठ जना मध्ये सोही ठाउँका ३० वर्षीय नाजिर हुसेन मियाँ पक्राउ परी ज्यान मार्ने उद्योगमा बारा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि वीरगञ्जमा कारागार चलान भएका छन् ।

बाँकी सात जना फरार रहेकाले उनीहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले बताए।
 

विशेष