News

६ वर्षअघि आफु लखेटिएको ठाउँमै ओलीको सानदार सभा, विष्णु रिजालले सम्झाए औद्यागिक क्षेत्रको घट्ना

६ वर्षअघि आफु लखेटिएको ठाउँमै ओलीको सानदार सभा, विष्णु रिजालले सम्झाए औद्यागिक क्षेत्रको घट्ना

मधेश आन्दोलनका क्रममा ०७३ फागुन २३ गते सप्तरीबाट लखेटिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ वर्षपछि उत्साहजनक कमब्याक गरेका छन्। ओली एक साताभित्रै तीन पटक मधेस झरेका छन् भने शनिवार आफु लखेटिएको सप्तरीमै हजारौँ सहभागीको सहभागितामा कार्यक्रम सम्पन्न गरेका छन्।

ओलीले कन्चनरुप नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गरेका छन्। युवा संघले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिमाना मिचिँदा बोल्न नसक्ने सरकारले जनताको सुरक्षा नगर्ने भन्दै एमालेलाई जिताउन आग्रह गरे ।

केही समयअघिमात्र सीमारक्षक भनेर चिनिने तिलाठी कोइलाडीका देवनारायण यादव पनि एमाले प्रवेश गरेका छन् । ओलीले मधेसलाई ठग्नेहरू जनताले चिन्नु पर्ने भन्दै एमालेविरुद्धका भ्रमहरू अब सकिएको दाबी गरे ।

ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताए। उनले यो ढोडको लौरो टेक्ने पार्टी होइन आफ्नै खुट्टामा भर परेर हिँड्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने जिकिर गरे। 

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा केही सिटमा अन्य विचार मिल्ने पार्टीसँग सहमति कायम हुनेसक्ने बताए । 

एमाले नेता विष्णु रिजालले सप्तीमा एमालेको कार्यक्रमका बारेमा प्रतिक्रिया दिदै ओलीलाई लखेटिएको ठाउँमै आज सानदार कार्यक्रम सम्पन्न भएको बताएका छन्। ‘यो त्यही सप्तरी हो, जहाँ हामीलाई २०७३ फागुन २३ गते अध्यक्ष कमरेड केपी शर्मा ओलीले बोल्दाबोल्दै हामीमाथि आक्रमण गरिएको थियो, ढुंगामुढा गरिएको थियो र हाम्रो सभामाथि गोली प्रहार गरिएको थियो । आज त्यही सप्तरीमा हजारौं मानिस केपी ओलीलाई सुन्न उपस्थित भए, हालसम्मकै शानदार सभा भयो।’

सप्तरीको मलेठमा ६ वर्षअघि एमालेको मेची महाकाली अभियानका क्रममा मधेसी मोर्चाले आक्रमण गरेपछि प्रहरीको गोली लागेर ६ जनाको मृत्यु भएको थियो । सो घटनापछि ओली पहिलो पटक सप्तरी पुगेका हुन् ।

यसरी भएको थियो घट्ना
मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मेची–काली अभियान’ अन्तर्गत सप्तरीको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सभा गरिरहेको थियो । एमालेलाई मधेश छिर्नै नदिने घोषणा गरेको मधेशी मोर्चाले त्यसभन्दा करीब ३०० मिटर दक्षिणको मलेठ चोकमा विरोध प्रदर्शन गरिरहेको थियो ।

एमालेका सबै नेताले आ–आफ्नो मन्तव्य राखिसकेका थिए । करिव ५ वजे एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण सकिनै लाग्दा प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप भयो । झडपमा सुरक्षा निकायले चलाएको गोलीबाट सन्जन मेहताको घटनास्थलमै मृत्यु भयो । गोली लागेर सख्त घाइते पीताम्बरलाल मण्डल र आनन्द साहको पनि सोही दिन उपचारका क्रममा मृत्यु भयो । गम्भीर घाइतेमध्ये वीरेन्द्र महतो र इनरदेव यादवको भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा क्रमशः २५ र २७ फागुनमा मृत्यु भयो ।

विशेष