२० गते साँच्चै आउँदैछन सन्दिप लामिछाने ?, यस्तो छ उनको योजना
बलात्कारको आरोप लागेपछि विदेशी भुमीबाटै सम्पर्कविहिन भएका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले असोज २० गते नेपाल आईपुग्ने भएका छन्। फेसबुकमार्फत उनले आफू २० गते नेपाल आइपुग्ने घोषणा गरेका हुन्।
उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै नेपाल आइपुग्नेबित्तिकै कानुनी कारबाहीको लागि आफैं प्रशासनमा हाजिर हुने पनि बताएका छन्। कानुनी प्रणालीमा अटल विश्वास रहेको उल्लेख गरेका उनले आफूले छिटै नै न्याय पाउने विश्वाससमेत व्यक्त गरेका छन्।
सन्दीपविरुद्ध एक नाबालिगले भदौ २१ गते प्रहरीमा आफूलाई बलात्कार गरको भन्दै जाहेरी दिएकी थिइन्। त्यसको तीन दिनपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गरेको थियो। निलम्बनमा परेसँगै क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका लामिछानेको सम्झौता रद्द भएको थियो।
सम्झौता रद्ध भएसँगै उनले आफू चाँडै नेपाल फर्किने र आफूमाथि लागेको आरोपको कानुनी प्रतिवाद गर्ने प्रतिक्रिया दिएका थिए। तर त्यसपछि उनी सम्पर्कविहीन भए। यस बीचमा उनले आफू अस्वस्थ रहेको र चिकित्सकको सल्लाह अनुसार आईसोलेसनमा रहेको जानकारी फेसबुकबाटै दिए।
यसै बीचमा लामिछानेविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भयो। त्यसपछि उनले आज फेरी फेसबुकमा लेख्दै २० गते नेपाल फर्कने जानकारी गराएका हुन।
सन्दीप लामिछाने