News

गठबन्धन र आफन्तवादले टिकटमा चरम असन्तुष्टि, धेरै ठाउँमा बागी

गठबन्धन र आफन्तवादले टिकटमा चरम असन्तुष्टि, धेरै ठाउँमा बागी

एक अर्कालाई समाप्त पार्ने ठुला राजनीतिक दलका नेताहरुको प्रतिस्पर्धाका कारण यस पटक साना दल समस्यामा परे। अन्ततः साना दल पनि ठुला दलसँगै मिल्नै पर्ने अवस्था आयो। यसको असर ठुला राजनीतिक दलमा पनि देखिएको छ। 

गठबन्धन मिलाउने नाममा राजनीतिक दलका धेरै नेता यस पटक टिकटबाट वन्चित भएका छन्। टिकटबाट वन्चित भएकाहरुको नेतृत्वप्रति तिव्र असन्तुष्टि छ। त्यसमाथि टिकट वितरणमा प्रभावशाली नेताका आफन्त र वरिपरिका व्यक्तिहरूलाई प्राथमिकता दिएपछि प्रमुखकै नेता ‘बागी’ उम्मेदवार बनेका छन्। टिकट वितरणमा अपनाएको स्वेच्छाचारिताको असर मनोनयनमा देखिएको छ।

एमालेमा भीम रावल, घनश्याम भुसालसहितका, कांग्रेसमा मीनेन्द्र रिजाल, गोविन्द पोखरेल, स्वर्णिम वाग्ले, अमरेशकुमार सिंह र चन्द्रकान्त यादव र माओवादीमा उपमहासचिव हरिबोल गजुरेल, कृष्णवहादुर महरालगायतका धेरै नेतालाई टिकटबाट वञ्चित गरिएको छ। नेताहरुले विधि र पद्धती मिचेर क्षमतावान् र योग्यभन्दा पनि आफ्ना बफादार र व्यवसायीलाई प्राथमिकता राखेर टिकट वितरण गरेको आरोप लागेको छ ।

कांग्रेसमा अमरेशकुमार सिंह, केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद अजय द्विवेदी लगायतले बागी हालेका छन । केन्द्रीय स्तरका नेताहरूमा माओवादीकी अञ्जना विशंखे, एमालेका रामवीर मानन्धर, प्रभु साहसहित दर्जनौंको बागी परेको छ ।

मधेसमा एमालेबाट मात्रै प्रदेश र प्रतिनिधिसभामा २५ जनाले बागी हालेका छन । कांग्रेस र माओवादीमा त्योभन्दा ठूलो संख्या छ । कांग्रेस र माओवादीमा बागी बढी हुनुमा गठबन्धन मुख्य कारण छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार प्रतिनिधसिभामा ९ सय २९ र प्रदेशसभामा १२ सय ५२ स्वतन्त्र उम्मेदवारी परेका छन । तीमध्ये अधिकांश दलभित्रका युवा छन । सात प्रदेशमध्ये मधेसमा सबैभन्दा धेरै बागी उम्मेदवार छन । 

विशेष