जसपाका मन्त्री हटाउने देउवाको तयारी, आयोगले दियो सकारात्मक संकेत
गठबन्धन छोडेर एमालेसँग मिल्न गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरू हटाउने तयारी थालेका छन्। तर, निर्वाचन आचारसंहिता लागू भइसकेकाले देउवा समस्यामा छन्।
सत्ता गठबन्धनले भन्दा एमालेले बढी सिट दिने भएपछि जसपाले एमालेसँग तालमेल गरेको छ । एमालेले जसपालाई प्रतिनिधिसभामा १७ र प्रदेशसभामा ४२ सिट दिने सहमतिअनुसार नै उम्मेदवारी परिसकेको छ । सत्ता गठबन्धनले भने जसपालाई १४ सिटको प्रस्ताव गरेको थियो ।
जसपाले एमालेसँग मिलेर उम्मेदवारी दर्ता गराएसँगै उसका मन्त्रीहरूलाई हटाउन प्रधानमन्त्रीले निर्वाचन आयोग र आफूनिकटका कानुन व्यवसायीसँग परामर्श थालेको वालुवाटार श्रोतले जनाएको छ। स्रोतका अनुसार गठबन्धनको बैठकमा अदालत र आयोगमा परामर्श गरेर निर्णय लिने देउवाले जानकारी दिएका छन्।
प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्तलाई उनीहरूलाई हटाएपछि नयाँ नियुक्ति गर्न मिल्ने वा नमिल्नेबारे परामर्शसमेत गरेको स्रोतले जनाएको छ। आयोगबाट मन्त्री हटाउन सकिने परामर्श पाएपछि देउवाले सरकारमा रहेका चार मन्त्रीलाई केही दिनमा पदमुक्त गर्न सक्ने जनाईएको छ।
जसपाले भने तत्काल सरकारबाट फिर्ता नहुने जनाएको छ। जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव सहभागि छन्।
पाँच वर्षअघिको पनि देउवा यही अवस्थाबाट गुज्रिएका थिए। निर्वाचनका बेला कांग्रेस र माओवादीको सरकार थियो । तर, माओवादीले एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीको जिम्मेवारी खोसेर बिनाविभागीय बनाएका थिए ।
जसपा