News राजनीति

सेनापतिले नै साथ छोडेको क्षेत्रमा गोकर्णलाई परास्त गर्न कस्ता छन झाँक्रीका अस्त्र ?

सेनापतिले नै साथ छोडेको क्षेत्रमा गोकर्णलाई परास्त गर्न कस्ता छन झाँक्रीका अस्त्र ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्धको आन्दोलनमा सँगै सहभागी भएका गोकर्ण विष्ट र रामकुमारी झाँक्री अहिले एउटै क्षेत्रमा चुनावी प्रतिस्पर्धामा छन्। विगतमा विष्टकै चुनावी प्रचारमा खटिएकी झाँक्री अहिले प्रतिस्पर्धी छिन्।

०७८ साल भदौ पहिलो साता माधवकुमार नेपालले एमाले विभाजन गरेपछि पहिला एकै गुटमा रहेका विष्ट र झाँक्री अहिले फरक पार्टीमा छन्। विष्ट १० वुँदे सहमति गरेर एमालेमै रहे भने झाँझी नेता नेपालको हात समाएर नेकपा एकीकृत समाजवादी गठन गर्नेदेखि शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीसम्म भईन्।

तिनै सहयाात्री आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि गुल्मीको क्षेत्र नम्बर २ मा आमनेसामने छन्। विष्ट र झाँक्री दुवैसँग एमालेको भातृसंस्था हाँकेको अनुभव छ भने अहिले पनि उनीहरु आ–आफ्नो पार्टीका केन्द्रीय सचिव छन्।

विष्टसँग झाँक्रीभन्दा लामो राजनीतिक र संसदीय यात्राको अनुभव छ। विष्ट गुल्मीबाट तीन पटक निर्वाचित भईसकेका छन् भने झाँक्री भने हालसम्म प्रत्यक्ष निर्वाचित भएकी छैनन्। ०७४ सालको चुनावमा समानुपातिक सांसदको रुपमा संसदीय यात्रा थालेकी हुन्। 

झाँक्रीलाई कांग्रेस र माओवादी केन्द्रको साथ छ। तर, तुलनात्मक रुपमा विष्ट अहिलेसम्म आलोचित नभएका कारण झाँक्री समक्ष विष्टलाई पराजित गर्ने ठुलो चुनौती छ। स्थानीय तहको मतपरिणाम पनि उनको पक्षमा छैन। गठबन्धनका दलले पुरापुर साथ दिएनन् भने उनलाई जित निकाल्न गाह्रो छ।

केही साताअघि एकीकृत समाजवादीका जिल्ला इन्चार्ज र जिल्ला अध्यक्ष लगायतका कार्यकर्ता एमालेमा प्रवेश गरेपछि रामकुमारीलाई धक्का लागेको छ। अर्कोतर्फ, उनको क्षेत्रबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेश योजना आयोगका सदस्य दामोदर भुसालले बागी उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेस गुल्मीको पूर्व क्षेत्रीय सभापति समेत रहेका भुसाल गठबन्धन गर्न नहुने भन्दै सुरुदेखि नै विरोध गर्दै आएका थिए। उनको उम्मेदवारीसँगै झाँक्रीलाई एकातर्फ निरन्तर निर्वाचित एमाले सचिव बिष्टसँग भिड्नु पर्नेछ भने अर्कोतर्फ कांग्रेसको भोट आफुतर्फ तान्न चुनौतीसमेत थपिएको छ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको परिणामअनुसार सत्ता गठबन्धन विपक्षी गठबन्धनभन्दा २ हजार २८५ मतले अघि छ। तर यस निर्वाचन क्षेत्रमा एकीकृत समाजवादी र माओवादीको केन्द्रका वडाध्यक्षका उम्मेदवारहरूको मत बराबरी छ। दुबै दलका उम्मेदवारहरूले १८ सय ४१ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा समाजवादीले जित्नका निम्ति कांग्रेससँग भएको २९ हजार ८ सय २१ भोट पुरापुर आफुतर्फ पार्नुपर्ने छ। यस क्षेत्रमा एमालेका वडाध्यक्षका उम्मेदवारहरूको मत ३१ हजार ३ सय ५२ रहेको छ।

गोकर्ण विष्ट रामकुमारी झाँक्री

विशेष