News

अब्दुस मियाँको आरोप– प्रचण्ड चितवनबाट लखेटिएर गोरखा पसेका हुन

अब्दुस मियाँको आरोप– प्रचण्ड चितवनबाट लखेटिएर गोरखा पसेका हुन

गोरखा २ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका अब्दुस सलाम मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल चितवनबाट लखेटिएर आत्मसमर्पण गर्न गोरखा पसेको आरोप लगाएका छन्।

पाँच वर्ष वैकल्पिक शक्ति निर्माणमा व्यस्त रहेर अन्तिम समयमा एमाले प्रवेश गरी उम्मेदवार बनेका अब्दुसले दाहालेका यो निर्वाचन अन्तिम इनिङ भएको दावी गरे। मंसिर ४ गतेको निर्वाचनमा गोरखाले उनलाई अब भाग्न नपर्ने गरेर राजनीतिबाट बिदाइ गर्ने उनको दावी छ।

‘गोरखामा दाहालले जिते प्रधानमन्त्री बन्छन् वा उनकै समर्थनमा सरकार बन्छ। उनले गोरखाको विकाश गर्न सक्छन। तपाईले के गर्नुहुन्छ ?’ भन्ने जिज्ञासाको जवाफ दिने क्रममा उनले दाहालले हिजो पनि केही नगरेको र भोली पनि केही नगर्ने बताए।

‘प्रधानमन्त्री बन्ने प्रचण्डले हिजो कहाँ–कहाँबाट जित्नुभो यसो हेरौँ त । रोल्पा जित्नुभो । रोल्पामा ह्वारह्वार्ती बजेट गएर सिंगापुर बन्यो त ? सिरहामा चुनाव जित्नुभो, प्रधानमन्त्री बन्नुभो । बजेट त्यहाँ गएर सिरहा आज बन्यो त ?’ उनले प्रश्न गरेका छन्–‘चितवनबाट त उहाँ लखेटिनुपर्ने स्थिति आयो त । अनि उहाँले गोरखाबाट जितेर के हुन्छ ? केही पनि हुँदैन ।’

दाहालले गर्ने भए र क्षमता भए आफनो घरबाट किन निर्वाचन नलेको भन्दै उनले प्रश्न गरे। ‘प्रचण्डको घर कहाँ हो कास्की हैन ? जन्मेको जिल्लाबाट निर्वाचन लडेर जित्न सक्छन् ? हिजो जितेको ठाउँमा फर्किएर चुनाव लड्न, जित्न सक्छन् ?’ उनले भने–‘त्यसकारण प्रचण्डको यो अन्तिम इनिङ हो । भाग्दैभाग्दै उहाँ आत्मसमर्पण गर्न गोरखा आउनुभएको छ । योपालि गोरखाले उहाँलाई अब भाग्न नपर्ने गरेर राजनीतिबाट बिदाइ गर्छ ।’

दाहाल ठूलो नेता हो, प्रभावशाली नेता हो। उनले जितेर प्रधानमन्त्री भए गोरखाको विकास हुन्छ भने भ्रम त्याग्न पनि उनले आग्रह गरे। ‘त्यो भ्रमबाट जति चाँडो मुक्त भयो त्यति राम्रो हुन्छ ।’– उनले भने। 
 

अब्दुस सलाम मियाँ पुस्पकमल दाहाल

विशेष