News

बालेनको ‘रामराज्य’ मा अन्याय र अत्याचार !

बालेनको ‘रामराज्य’ मा अन्याय र अत्याचार !

नेपाल एकिरण हुनुअघि काठमाण्डौं उपत्यका विभिन्न राज्यहरुमा विभाजित थियो। एकिकरण भएपछि तीनै राज्य/रजौटाहरुलाई काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका रुपमा रुपान्तरण गरिएको छ।

एकिकरण अघिका स–सना राज्यहरु अहिले पनि फरक–फरक स्थानिय तहका रुपमा स्थापित छन्। ती स्थानीय तहलाई फरक–फरक राज्यको रुपमा मान्ने हो भने ‘काठमाण्डौं राज्य’ का राजा बालेन्द्र साह हुन। उनी लिगलिगे दौड जितेर होईन, जनताको मन जितेर ५ वर्षका लागि राजा भएका हुन। अर्थात काठमाडौ महानगरपालिकाको मेयर।

संगीत क्षेत्रबाट आएका भएपनि बालेन्द्रको मुख्य उदेश्य भनेको काठमाण्डौंलाई ‘राम राज्य’ बनाउनु हो, उनको मनमा जे सुकै भएपनि जनताले वुझेको यही हो। उनले काठमाण्डौलाई ‘रामराज्य’ बनाउने भनैरै चुनाब लडे र जिते पनि। स्थानीय तह निर्वाचनका क्रममा बालेन्द्रले गाएको ‘गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन, मोही छैन– गरिबको चमेली बोल्दिने कोही छैन’ बोलको -याप गीत निकै चर्चित थियो। जुन गीतमा उनले राज्य सत्तासँग तिव्र असन्तुष्टि ब्यक्त गरेका छन्।

यो गीत २० वर्षअघि कम्युनिष्टहरुले लेख्न लगाएको भनिन्छ। पछि यो गीतलाई कलाकार हरिबंश आचार्य अभिनित नेपाली चलचित्र ‘बलिदान’ मा प्रयोग गरियो। बालेन्द्रले यही गीतको केही अंश लिएर -याप गाए।

... अपराधी देशमा छन् घुमिराको साईरनमा
सफा पानी चढाको आउँदैछ रे साईकलमा 
......., मेलम्ची कसले ल्याईरन्छ
ब्यापार हो सवै, यो राजनीति होईन
यो राज्यको राजाहरुमा राजयोग नै छैन
यो राम राज्य होईन,.... 

नेताहरुलाई चोर/लुटेरा भन्दै गाएको यो गीत यति लोकप्रिय भयो कि, उनको चुनाव प्रचारको अफिसियल गीतकै रुपमा प्रयोग गरियो। तर अहिले बालेन्द्रले कल्पना गरेको ‘रामराज्य’मै गरिवमाथि अन्याय भईरहेको भन्दै विलौना सुन्न थालिएको छ। बालेन्द्रले दसैंको मुखमा गरिब जनतालाई सडकबाट लखेटेको आरोप छ।

‘रामराज्य’मा राजा नै असफल
बालेन्द्रले आफु निर्वाचित भएपछि धेरै क्षेत्रमा काम गर्न खोजे। फाहोर ब्यवस्थापन, सडक अतिक्रमण, राजश्व वृद्धि, टुकुचा ब्यवस्थापनलगायतका क्षेत्रमा महानगरले काम सुरु गर्यो। काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले टुकुचामाथि बनेका सवै अवैध संरचना भत्काउने उदघोष गर्दै हिडे। टुकुचा प्रकरणमा एक्स्काभेटर लगाएर राणाकालिन सुरुङ्ग खोतल्ने काम भयो।

बालेन्द्रका सैनिकहरु (नगर प्रहरी) रक्सी खाएर मातेको हान्ने राँगो जस्तै भए। उसो त बालेन आफै पनि मदिरामैत्री छन्। आफैले खाली गर्न लगाएको ‘पव’ मा गएर श्रीमतीसहित नाच्छन्। सार्वजनिक कार्यक्रममा मदिरा सेवन गरेर उपस्थित हुन्छन। यी विषयमा उनले आलोचना पनि खेपीरहेका छन्। यद्यपी उनको ब्यक्तिगत जिवनमा चियाउने फुर्सद नागरिकलाई छैन। उनले जे खाएपनि विगार नभएसम्म खासै चासोको विषय होईन पनि।

तर, टुकुचा प्रकरणमा भने उनी असफल भएको धेरैको बुझाई छ। टुकुचाको ऐतिहाँसिक पृष्ठभुमी अध्ययन नगरी खोतल्नु थाल्नु, अदालतले अन्तरिम आदेश जारी गर्दा कुरै नवुझी हचुवाको भरमा आलोचना गर्नु तथा महानगरले नै नक्सा पास गरेका संरचना पनि भत्काउन थाल्नु उनको कमजोरी रह्यो। जानकारहरुले भन्ने गरेको पनि यही हो।

कहाँ अलमलिए बालेन्द्र ?
स्रोतका अनुसार टुकुचा अतिक्रमण सतही रुपमा एउटा र गहिराईमा विभिन्न अवस्था छन्। कतिपय यस्ता ब्यक्ति पनि छन्, जसलाई आफनो घरमुनी खोला कुद्दैछ भन्ने जानकारीसम्म छैन। पैसा तिरेर बनिबनाउ घर किनेर बस्नेहरुको अवस्था प्राय यस्तै हो।

अर्कोतर्फ, कतिपय यस्ता संरचना छन्, जसको नक्सा पास र संरचना निर्माण सम्पन्न भएको कागजात महानगरपालिकाले नै दिएको छ। यी दुवै अवस्थाका ब्यक्ति र निकायले अहिले ‘बालेन्द्रको रामराज्य’ मा अन्याय भएको महसुस गरिरहेका छन्।

तर, कतिपय ब्यक्ति/निकाय यस्ता छन्, जस्ले देशको कानुन र महानगरको आदेशलाई समेत वेवास्ता गरेर गैरकानुनी रुपमा संरचना निर्माण गरेका छन्। लक्ष्मी बैंक, सिद्धार्थ बैंकलगायतका निकायका संरचना अबैध रुपमा निर्माण भएको प्रमाण महानगरले नै सार्वजनिक गरिसकेको छ। 

ति संरचना निर्माणकै क्रममा महानगरले काम रोक्न निर्देशन दिएका पत्रहरु सार्वजनिक भईसकेका छन्। तत्कालिन मेयर विद्यासुन्दर शाक्यको समयमा ति संरचना भत्काउने निर्णय पनि भएको थियो। यही निर्णय अनुसार लक्ष्मी बैंक लगायतका गैरकानुनी संरचना भत्काउन सकिन्थ्यो। तर, लक्ष्मी बैंक लगायतका संरचना भत्किएनन्। यथाबत छन्। त्यहाँसम्म बालेन्द्रको ध्यान पुग्नै सकेन। 

नक्सा पास भएका तथा निर्माण सम्पन्न भएको कागज हातमा बोकेर वेसेकाहरुको संरचना भत्काउने धम्की दिदै हिड्ने तर भत्काउने निर्णय नै भईसकेका संरचनालाई त्यसै छोडि दिने गरेकाले बालेन्द्रलाई असफलता हात लागेको जानकारहरु बताउँछन्।

किन भत्किएनन् लक्ष्मी बैंक लगायतका संरचना ?
नेपालकै ठुला ब्यापारिक घराना मध्ये खेतान समूहका राजेन्द्र खेतान लक्ष्मी बैंकका मूख्य प्रवर्धक हुन। वैंकको भवनमा हिमालय बैंक, एभ्रेष्ट इन्स्योरेन्स, प्राईम लाईफ इन्स्योरेन्स, बोटलर्स नेपाल तथा खेतान समुहका अन्य ६ ब्यबसायका कार्यालय पनि संचालनमा छन्।

खेतानका टुबोर्ग बियर, गोर्खा बियर, सानमिगल बियर र कार्ल्सवर्ग बियर बनाउने गोर्खा ब्रुअरी र मायोज चाउचाउ बनाउने हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालिका कार्यालय पनि यही भवनमा छन्। स्रोतका अनुसार लक्ष्मी बैंकको भवनमा रजगज गरिरहेका खेतानले टुकुचा खोज्न बालेन्द्रको एक्स्काभेटर निस्कनासाथ मिडियालाई टुबोर्ग बियर (विज्ञापन) वाड्न थाले।

त्यसवेला अनलाईनका ब्यानर टुबोर्ग बियरले ढकमक थिए। मिडियाले अबैध रुपमा निर्माण भएका लक्ष्मी लगायतका संरचनाको कुरै गरेनन्। बरु ‘बालेन्द्रका सेना’ ले बैधानिक संरचना भत्काउन धम्की दिएको विषय उचाले। यसका पछाडि खेतानको मिडिया म्यानेजमेन्टले काम गरेको आरोप लाग्ने गरेको छ।

कतिपय जानकारहरु ब्यंग्य गर्दै भन्छन्– ‘टुबोर्ग बियर खाएर मातेकाहरुले होस गुमाए, तिर्मिराएका आँखाले लक्ष्मी बैंकको अबैध संरचना देख्दै देखेन।’

अबको बाटो
टुकुचाको बारेमा अध्ययन गरेका र सुरुदेखि अहिलेसम्मको अवस्था नियालेकाहरु पहिलो चरणमा बालेन्द्र असफल भएको बताउँछन्। एक पटक असफलता हात लागेपछि बालेन्द्रले अव सिंहावलोकन गरेर मात्र थप कदम चाल्नु पर्ने उनीहरुको मत छ।

त्यसका लागि महानगरले बैधानिक संरचनाहरु अधिग्रहण गर्ने, नाप/नक्सा हराएको हो भने त्यसको अनुसन्धान गरेर उचित निर्णय लिने तथा नक्सा पास गर्दा गैरकानुनी बाटो अख्तियार गरिएको प्रमाणित भए संलग्न अधिकारीहरुलाई कारबाही गरेर उचित निर्णय गर्न सकिने उनीहरु बताउँछन्।

बालेन्द्र साह लक्ष्मी बैँक

विशेष