News

एमालेलाई मधेशमा अर्को झड्काः पूर्वमन्त्री बद्री न्यौपानेले पार्टी छोडे

एमालेलाई मधेशमा अर्को झड्काः पूर्वमन्त्री बद्री न्यौपानेले पार्टी छोडे

जसपासागको तालमेलमा असन्तुष्टि जनाउँदै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन्।  यसअघि जसपासँगको तालमेलको विरोध गर्दै प्रभु साहले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

स्थायी कमिटी सदस्य साहसहित रौतहट जिल्ला ईन्चार्ज उपेन्द्र साह र केन्द्रीय सदस्य कुन्दन कुशवाहालाई एमालेले निष्कासन गरेको छ। त्यसको केही दिनमै न्यौपानेले पनि पार्टी छोडेका हुन।

एमालेको सर्लाही जिल्ला सह–ईन्चार्ज समेत रहेका न्यौपाने एमाले जसपा गठबन्धन विदेशी स्वार्थमा भएको बताएका छन् भने जसपालाई मधेशी पहाडीबीच सम्प्रायिकता भड्काउने पार्टीको संज्ञा दिएका छन्।

गठबन्धन देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएकाले एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको उनले घोषणा गरेका छन्। चुरे भावर आन्दोलनबाट उदाएका न्यौपानेले भनेका छन्– ‘०६२÷६३ को मधेशवादी दलले गरेको साम्प्रदायिक ज्यादतिदेखि मधेशी पहाडीबीचको विभेदपूर्ण आन्दोलनलाई प्रतिकारको रुपमा राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रियता बचाउनको लागि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले सम्पूर्ण मधेश प्रदेशमा साम्प्रदायिक आन्दोलनविरुद्ध आन्दोलन गरेको थियो।’

त्यो आन्दोलनका क्रममा भावरवासी शहिद हुनुका साथै कयौँ घाइते भएको उनले बताएका छन्। उपेन्द्र यादवको नेतृत्वमा मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टी (जसपा) सँग एउटा राष्ट्रवादी पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले एउटा साम्प्रदायिक पार्टीसँग जनताको मागविपरीत गरेको गठबन्धन गलत भएको उनको दावी छ। 

बद्री प्रसाद न्यौपाने

विशेष