गठबन्धनमा मिलेपछि बाबुराम – नौ अर्ब कमिशन खाएको कुरामा अव विवाद छैन

पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डेढ वर्ष अघि आफुले फटाई कुरा गरेको आफैले पुष्टि गरेका छन्। बूढीगण्डकी आयोजनाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएको कुरामा अहिले कुनै विवाद नभएको भन्दै आफनो कुरालाई आफै झुटो सावित गरेका छन्।
गोरखामा शनिबार आयोजित गठबन्धन दलहरूको अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आफूले डेढ वर्षअघि लगाएको आरोप सच्चिएको बताए।
‘हिजो त्यतिबेला मैले अलिकति आलोचना गरेकै हो, किनभने नेपाली आफैंले बनाउनुपर्ने आयोजना कता–कता कसको खेलमा बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचनाहरु पाएको थिएँ’ उनले भने–‘तर ती सूचनाहरु अपुष्ट थिए, त्यसको आधारमा मैले त्यो बेला बोलेकै हो, अब त्यो सच्चियो ।’
कमिशनको आरोपबारे प्रष्टिकरण दिँदै उनले त्यतिबेला अलिकति आलोचना गरेको बताए। बूढीगण्डकीबारे आफूहरुकाबीचमा अव कुनै विवाद नभएको उनले स्पष्ट पारे । ‘मैले केही सूचना पाएको थिएँ। त्यसको आधारमा मैले त्यो बोलेकै हो। तर त्यो अहिले सच्चिएको छ। म के खुशी व्यक्त गर्न चाहन्छु भने अब बूढीगण्डकी नेपालले बनाउने निर्णय गरेको छ।’ – उनले थपे।
अब बूढीगण्डकी छिटो बनाउने अभिभारा गोरखाबाट निर्वाचित भएपछि प्रचण्डको काँधमा जाने उनले बताए। सोही आरोपका विषयमा पछिल्ला वक्ता प्रचण्डले आरोप सच्याउन जरुरी रहेको बताएका थिए।
डेढ वर्ष अघि गृह जिल्ला गोरखा आएको बेला भट्टराईले आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी (गेजुवा ग्रुप) लाई दिँदा शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब रुपैयाँ घुस खाएको आरोप लगाएका थिए । उनले त्यतिबेला आफूले त्यसको प्रमाण नै दिनसक्ने बताएका थिए ।
बाबुराम भट्टराई