News

हँसिया हथौडामा भोट हाल्न प्रचण्डले कांग्रेसीलाई पढाए शान्ति सम्झौता

हँसिया हथौडामा भोट हाल्न प्रचण्डले कांग्रेसीलाई पढाए शान्ति सम्झौता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘कसरी रुखमा भोट हाल्ने?’ भन्ने माओवादी र ‘कसरी हँसिया हथौडामा भोट हाल्ने?’ भन्ने कांग्रेसीले शान्ति सम्झौता, संघीयता र गणतन्त्रको अर्थै नबुझेको बताएका छन्। 

गोरखा सदरमुकाममा गठबन्धन दलले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। अझै पनि केही कांग्रेसीहरुलाई हँसिया हथौडामा भोट हाल्नु पर्ने कुराले चिन्तित बनाएको भन्दै उनले शान्ति सम्झौताको अर्थ सम्झाए।

‘कसरी रुखमा भोट हाल्ने भन्ने एकथरी साथीहरुलाई भएको छ। अर्कोतिर कसरी हँसिया हथौडामा भोट हाल्ने भन्ने भएको छ’, उनले भने–‘यस्तो भन्ने साथीहरुले शान्ति सम्झौता, संघीयता र गणतन्त्र बुझेनन्।’

कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालासँग आफुले गरेको हस्ताक्षर रुखमा भोट हाले बरावर भएको बताएका उनले भने –‘त्यो भनेको उहाँले पनि हँसिया हथौडामा भोट हाल्नु हो।’ त्यसबेला गिरिजाबाबुले जोखिम मोलेर माओवादीसँग हात मिलाएको उनले बताए।

‘विदेशी शक्ति पनि माओवादीसँग गिरिजाले हात नमिलाओस् भन्ने चाहन्थे’ उनले भने–‘तर पनि हामीले शान्ति सम्झौतामार्फत देशलाई यहाँसम्म ल्याएका छौँ।’ अब पनि नेपाली कांग्रेसका कार्यकर्ताहरुले हँसिया हथौडामा भोट हाल्दा हात कमाइराख्नु ठीक नहुने उनको भनाई छ। 

‘यो खाली गोरखाका लागि मात्रै होइन, नेपालकै राजनीतिक र आर्थिक विकासका लागि पनि गठबन्धन हो। म यहाँबाट निर्वाचित भइसकेपछि के गर्ने भन्ने खाका स्पष्ट भएका छन’, उनले भने, ‘मैले यहाँ आउँदा निकै खुसी र गर्वको महसुस गरेको छु। राजनीतिक र भावनात्मक सम्बन्ध सुदृढ गर्न केही देखाउनु पर्ने भएको छ।’

विशेष