News

शताब्दी पुरूष सत्यमोहन जोशीको शव अस्पतालले के गर्छ?, कति वर्ष राख्छ?

शताब्दी पुरूष सत्यमोहन जोशीको शव अस्पतालले के गर्छ?, कति वर्ष राख्छ?

१०३ वर्षको उमेरमा मृत्युवरण गरेका वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर किस्ट अस्पतालको जिम्मा लगाईएको छ। जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालय परिसरमामा राखिएको थियो। दिउँसो ४ वजे शव पुनः अस्पतालको जिम्मा लगाईएको हो।

उनको शरीरलाई अव अध्ययनका लागि अस्पतालले संरक्षण गरेर राख्नेछ। जोशीले ०७७ माघ ३० गते नै ललितपुर महानगरपालिकाको रोहबरमा आफ्नो शरीर अध्ययनका लागि किष्ट अस्पताललाई दिन सम्झौता गरेका थिए।

जोशीले ‘आफु यति धेरै बाँच्नुको कारण के हो?’ भन्ने विषयमा अस्पतालले अध्ययन गरोस भन्ने चाहेका थिए।  आफ्नो शरीर अस्पताललाई दिने सम्झौता गर्ने क्रममा उनले भनेका थिए–‘संस्कृतमा एउटा श्लोक छ जीवेम शरदं शतम’ भन्ने, सोहीअनुसार पनि म १०० वर्ष त बाँचिसकेँ। यति समयसम्म मेरो फोक्सोको अवस्था कस्तो थियो? मुटुको अवस्था कस्तो छ? सबै जानकारी चिकित्सा क्षेत्रका विद्यार्थीहरूले अध्ययन गरेर पत्ता लगाऊन् भन्ने उद्देश्यले मरणोपरान्त अरू सबै संस्कार गरिसकेपछि शरीर दान गर्न लागेका हौं।’

उनको इच्छा अनुसार नै अव अस्पतालले उनको शरीरका हरेक अंगको अध्ययन गर्ने अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले बताए। अध्ययनको उदेश्य पुरा भएपछि शवको दाहसंस्कार गरिने छ। तर, त्यसबारे कसैलाई जानकारी नदिईने जनाईएको छ।

अध्ययन गर्ने समय लामो हुने र वर्षौं लाग्न सक्ने उनले बताए। अध्ययनबाट खुलेका तथ्यहरू अन्य शिक्षण अस्पतालमा पनि पठाउने उनले जानकारी दिए। अस्पतालका अनुसार आजबाटै जोशीको शव हेर्न अनुमति सर्वसाधरणलाई छैन। परिवारका सदस्यलाई पनि त्यो अनुमति नहुने पाठकले बताए।

शव संरक्षणका लागि नसामा इन्जेक्सेनबाट रसायन प्रयोग गरिएको जनाईएको छ। ‘उहाँको शरीरमा नसाबाट रसायन दिइएको छ। उक्त रसायन शरीरमा पसेपछि २५–३० वर्षसम्म पनि केही हुँदैन।’ अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले भने, ‘मृत शरीरलाई संरक्षण गर्न विभिन्न किसिमको केमिकल प््रयोग गरिन्छ।’

जोशीको आज विहानै शरीरमा रसायन पठाउने काम सकेर उनको शव श्रद्धान्जलीका लागि परिवारको जिम्मा लगाईएको थियो। 

असोज ७ गते देखि ललितपुरको किष्ट अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो। 
 

सत्यमोहन जोशी

विशेष