News मुख्य समाचार राजनीति

स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले तोके ८ जिल्लामा कमाण्डर

स्वतन्त्र उम्मेदवार जिताउन प्रभु साहले तोके ८ जिल्लामा कमाण्डर

पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउन मधेशका आठ ओटै जिल्लामा अभियान सुरु गरेका छन्। अभियान सफल पार्न र आठ वटै जिल्लामा स्वतन्त्र उम्मेदवार जिताउन उनले कमाण्डर समेत तोकेका छन्।

दलिय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समय सापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउन अभियान सुरु गरिएको उनले जनाएका छन्।

अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले मधेश प्रदेशका ८ वटै जिल्लाको संयोजक (कमाण्डर) तोकेका छन् । 

आइतवार एक वक्तव्य जारी गर्दै साहले पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह ‘अमर’, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई संयोजनकको जिम्मेवारी तोकेका छन्।

अभियानलाई वडा तहदेखि राष्ट्रियस्तरको संरचनामा खडा गर्ने अभियानका संयोजक साहले जानकारी दिए । एमालेले जसपासँग गठबन्धन गरेपछि त्यसको विरोध गर्दै पूर्वमन्त्री साहले एमालेको टिकट लत्याएर प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

उनले मधेशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरेका छन भने अब उनले देशैभर स्वतन्त्र उम्मेददवारहरुको प्यानल निर्माण गर्न लागेका हुन् ।

विशेष