‘टिक्डम गरेर बनेका नेता’ भन्दै प्रचण्डले गरे ओलीको आलोचना
![‘टिक्डम गरेर बनेका नेता’ भन्दै प्रचण्डले गरे ओलीको आलोचना](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/10/prachanda1-795e5.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालले ०६२ साल मंसिर ७ गते सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सम्झौताको जस आफु र गिरिजाप्रसाद कोईरालापछि माधबकुमार नेपाललाई दिएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदे सम्झौता पनि नहुने दाबी गरे । उनले नेकपा एमाले अध्यक्ष ओलीलाई जालझेल र तिक्डम गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाए ।
आइतबार काठमाडौँमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उनले एमालेमा माधब नेपाल भएकै कारण १२ बुँदे समझदारी र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउन सम्भव भएको दावी गरे।
‘सुर्य चिन्ह थियो, त्यसको नेता/सात दलको नेता माधबकुमार नेपाल हो। अहिले विभिन्न खालका तिक्डम गरेर आएका कोही नेताहरु एमालेका नेता थिएनन्’ उनले भन–‘ति नेता भएको भए/त्यती बेला ति एमालेका नेता भएको भए सायद १२ बुँदे समझदारी र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आउन दिदैनथे तिनीहरुले। माधबजी हुनुहुन्थ्यो त्यस कारण हामी सवैले एक अर्कालाई स्विकार गरिसकेको हो।’
उनले यसरी माधव नेपाललाई वफादार र ओलीलाई तिक्डम गरेर बनेको नेता भन्नुको सार भने माओवादीलाई रुखमा र कांग्रेसीलाई हँसिया हठौडामा भोट हाल्न उत्प्रेरित गर्नु थियो। यति भनिसकेपछि अध्यक्ष दाहालले ‘१२ बुँदे सम्झौता गर्दै हामी सवैले एक अर्कालाई स्विकार गरेको’ बताए। उनले माओवादी, कांग्रेस र समाजवादीका नेता÷कार्यकर्तालाई इतिहाँस स्मरण गर्न र निर्धक्क गठबन्धनको उम्मेदवारलाई भोट हाल्न आग्रह गरे।
०६२ साल मंसिर ७ गते सात राजनीतिक दल र नेकपा माओवादीबीच भएको १२ बुँदे सहमतिमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (माओवादी) का अध्यक्ष पुस्पकमल दाहाल, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति गोपालमान श्रेष्ठ, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का उपाध्यक्ष भरतबिमल यादव, संयुक्त वाममोर्चाका अध्यक्ष कृष्णदास श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले हस्ताक्षर गरेका थिए ।
पुस्पकमल दाहाल