News

नक्कली लालपुर्जा बाँडेर १६ लाख झ्वाम पार्ने ठगुन्ना पक्राउ

नक्कली लालपुर्जा बाँडेर १६ लाख झ्वाम पार्ने ठगुन्ना पक्राउ

नक्कली लालपुर्जा बाँडेर १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने ३६ वर्षीय डम्बरबहादुर ठगुन्ना छन्।

दार्चुलाको मार्मा स्थायी घर भएर गोदावरी नगरपालिका–९ को खुटिया बस्ने ठगुन्ना विरुद्ध पीडितले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। ठगुन्नालाई आइतबार राति खुटियास्थित डेराबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रविन्द्र पाण्डेले बताए।

ठगुन्नाले चुरे गाउँपालिका–५ को सिस्नेरी, गोदावरी नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकामा गरी ३५ जनालाई ठगी गरेको उजुरी छ । ति मध्ये चुरे गाउँपालिका–५ बस्ने खड्कबहादुर पुन मगरसहित १० जनाले ठगुन्ना विरुद्ध किटानी जाहेरी दिएका छन् ।

भूमी आयोगमा आफ्नो पहुँच छ भन्दै उनले प्रति ब्यक्ति ४५ हजार रुपैयाँ लिएर लालपुर्जा दिने गरेका थिए। उनले हरेकलाई कैलालीको गौरीगंगा नगरपालिकामा एक कठ्ठा ऐलानी जग्गा खरिद गरिदिएको भन्दै नक्कली लालपुर्जा दिने गरेको पाइएको छ ।

नक्कली लालपुर्जा बाँडेपछि उनी फरार भएका थिए। तर पछिल्लो समय डेरामा देखिएपछि ठगुन्नालाई पीडित पक्षले नै समातेर प्रहरीको जिम्मा लगाएका हुन।

इलाका प्रहरी कार्यालय मालाखेतीले ठगुन्नाविरुद्ध अदालतबाट म्याद थप गरे घटनाबारे अनुसन्धान सुरु गरेको छ। 

विशेष